वा ! क्या रमाइलो

ऐतिहासिक स्थल मकवानपुरगढी छोरीले आजसम्म देख्न नपाएको स्थल । ८ बर्षीया छोरीले यसअघिपनि पटक–पटक प्रश्न गरेकी थिइन् ‘लडाकु हो पृथ्वीनाराण शाह ?’
मैले आफूखुशी उत्तर दिंदै आएँ । उनै पृथ्वीनारायण शाहको वीरताको गाथा छिपेको स्थान, उनको पौरखको कथा लुकेको ठाँउ हो मकवानपुर गढी । जहाँ अंग्रेज सेनाहरुले हारेका थिए ।
दशक लामो राजनीतिक संक्रमणपछि संविधानसभाको निर्वाचन भयो । संविधान बन्यो । संविधान कार्यान्वयनको क्रममा तीन तहका चुनावहरु भए । संघले दुईतिहाइ समर्थनको सरकार बनायो ।
यतिबेला जनतासँंग सबैभन्दा नजिक रहेको स्थानीय सरकार स्थानीयस्तरको विकास निर्माणको ब्यग्रतामा छ । जनताका अपेक्षा निराशामा नबदलिदैं स्थानीय सरकारले विकासको भोक मेटाउनुछ । यसकोलागि सबैभन्दा ठूलो चुनौति आर्थिक पक्षलाई मानिन्छ ।
हुन त सामाजिक विकासको महत्व कम पटक्कै हैन, तर आर्थिक पाटो पहिलो हुने भएकोले आर्थिक विकास, आर्थिक स्रोतलाई पहिलो मान्ने गरेको सर्वत्र देखिन्छ ।
समृद्धिको एउटा यस्तो आधार हो मकवानपुरगढी । प्रदेश ३ को मकवानपुर जिल्लासँग छुट्टै इतिहास छ, यसमा पनि जिल्लाको ऐतिहासिक गढीहरुले चिनाएको छ जिल्लालार्ई ।
मकवानपुर मल्लकालीन राजाको पालादेखि नै भारत एवं तराईको भू–भागबाट काठमाडांै उपत्यका जोड्ने मुख्यद्वार हो । मकवानपुर यस्तो भूगोल हो जहाँ राणकालीन समयमा सिकार खेल्ने जंगलदेखि लिएर देश विदेशको यात्रामा हिँड्ने गर्दथे ।
प्रकृतिले साथ दियो र त उनी स्कुले सानासाना नानीबाबुको बुझाइमा समेत ‘बहादुर लडाकु’ बने ।
राजा पृथ्वी नारायण शाहको ससुराको राज्य रहेको मकवानपुरगढी करिब १३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपालमा भएका गढीमध्ये सबैभन्दा ठूलो र फरक इतिहास बोकेको मकवानपुरगढी विकासको लागि धेरै व्यवस्था भैसकेको छ । तर, अझै धेरै गर्न बाकी छ ।
मकवानपुरगढी गाउँपालिका यो क्षेत्रलाई आकर्षक र पुरानै संरचनामा व्यवस्थापन गर्न लागिपरेको छ । नेपाल एकीकरणको महत्वपूर्ण योगदान गरेको मकवानपुरगढीमा अब गाउँपालिकाले संग्रहालय निर्माण गर्ने भएको छ ।
हेटौंडाबाट जम्मा १६ किलोमिटरको दुरीमा रहेको मकवानपुरगढीलाई पर्खालले घेरिएको छ । गत १० माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेपछि यो क्षेत्रको विकासले अझै रफ्तार पाउने आशा गरिएको छ ।
दरबार र गढीका भग्नावशेषहरु नै अहिले ऐतिहासिक बनेका छन् । प्रवेशद्वारको भित्र वंश गोपालको मन्दिर अहिले मकवानपुरगढी पर्यटकको गन्तव्य बनेको छ ।
गढी पुग्ने जो कोहीले भन्छन्– ‘वाउ क्या रमाइलो’ । दरबारको छेउबाट मकवानपुरगढी गाँउपालिकाले समेटेको (साविकको गढी, आमभज्याड्ड, बढीचौर गाविस) क्षेत्र प्रष्ट देखिन्छ ।
साथै बारा जिल्ला पनि सहजै अवलोकन गर्न सकिन्छ । यहाँ आउने जो कोहीलाई यस्तो लाग्छ, प्रकृतिले यतिविघ्न साथ नदिएको हुँदोहो त राजा पृथ्वी नारायण शाह पनि सफल हुन्थेनन् होला ।
प्रकृतिले साथ दियो र त उनी स्कुले सानासाना नानीबाबुको बुझाइमा समेत ‘बहादुर लडाकु’ बने ।
यही अनुपम सुन्दरताले तानेको छ पर्यटकहरुलाई । हवात्तै बढेको छ, पर्यटकको चाप । बिदाका दिन हेटौंडा बजारबाट रिफ्रेस हुन आन्तरिक पर्यटकको भीडभाडको दृश्यले कुनै मेलाको झल्को दिन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले घोषणा गरेको मुलुकका सय पर्यटकीय स्थलमध्येमा मकवानपुरगढी पनि पर्छ । मकवानपुरगढीकोे प्रवेशद्वारले चीनको ग्रेटवालको झल्को दिन्छ ।
पर्यटकलाई प्रवेशद्वारमा उभिएर फोटो र सेल्फी खिच्न पालो पाउन नै हम्मेहम्मे पर्छ । पालो पर्खेर भएपनि मुल गेटमा फोटो खिच्नेहरु पर्खेर बसेका देखिन्छन् ।
ऐतिहासिक पाटो
लेखक केबी मसालका अनुसार, पाल्पाली राजा मणिमुकुन्द सेनले आफ्नो विशाल राज्यलाई चार भागमा विभाजन गर्दा उनका कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर परेको थियो ।
मकवानपुरको राजकाजका क्रममा मकवानपुरगढीको निर्माण १७५० सालतिर राजा तुला सेनले गरेका थिए । सेनवंशी राजाको अन्त्यसमेत मकवानपुरगढीबाट भएको थियो ।
यो गढी समुद्रको सतहबाट करिब ३ हजार ६ सय फिट उचाइमा महाभारत पर्वतको दक्षिणतर्फ फैलिएको छ । मकवानपुरगढीमा मुख्य रूपमा दुईवटा गढी छुट्टाछुट्टै छन् । राजदरबार रहेको ठूलो गढीलाई मूल गढी भनिन्छ ।
त्यस्तै, सैनिक परेड खेल्ने र प्रशासनिक भवनसमेत रहेको गढी सानो गढीको नामले परिचित छ । मूल गढीको सुरक्षाका लागि चारैतर्फ करिब २५ फिट अग्लो पर्खाल लगाइएको छ । पर्खालको चौडाइ करिब चार फिट छ भने पर्खाल वरपर १० फिट गहिरो खाडलले गढीलाई थप सुरक्षा प्रदान गरेको छ ।
गढीमा ऐतिहासिक एवं सांस्कृतिक महत्वका वस्तु अध्ययनका लागि अझै पनि धेरै कुरा भेटिन्छ ।
पूर्व–पश्चिम फैलिएको यस गढीमा राजपरिवार बस्ने दरबार जुगे दरबारका नामबाट परिचित छ । २५६ वर्षअघि विदेशी सेनालाई हराएको खुसियाली स्मरणमा विजय उत्सव प्रत्येक १० माघमा मकवानपुरगढीमा हुने गर्दछ ।
गोर्खालीले मिर कासिमको फौजलाई पराजित गरेपछि उनीहरूबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले औपचारिक सैनिक संगठन निर्माण गरेका थिए ।
त्यसबेला अपराधीलाई दण्ड दिन कारागारको स्वरूपमा बनाइएको खाल्डो देख्दा पर्यटक अचम्म मान्छन् । सेन राजाका समयमा ऐन कानुन मिच्नेलाई गहिरो खाडलमा हालेर यातना दिने र अपराध हेरी कसैलाई मार्ने समेत गरेको पाइन्छ ।
गढीमा ऐतिहासिक एवं सांस्कृतिक महत्वका वस्तु अध्ययनका लागि अझै पनि धेरै कुरा भेटिन्छ ।
ऐतिहासिक गढी भएको कारण मकवापुर जिल्लाको नाम पनि यसै अनुसार नामाकरण भएको हो । संघीय संरचना अनुसार यो क्षेत्र मकवानपुरगढी गाउँपालिका–२ मा पर्छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमगाँईका अनुसार अहिले भग्नावशेष अवस्थामा रहेको यहाँको संरचनाहरु सोही स्वरुपमा निर्माण गर्ने योजना तय हुँदैछ ।
मकवानपुरगढीमा दरबार, विजयपार्क, सानोगढी र ढुंगेगढी, विजय स्मारकलगायत ऐतिहासिक स्थल छन् । मकवानपुरगढीको दक्षिणपूर्वमा सेन वंशीय राजासँग नाम जोडिएको जमिन रानीसेराको नामले परिचित छ ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सुसराली मकवानपुरगढी, सेनवंशीय राजा मणिमुकुन्द सेनको ऐतिहासिक जुगे दरबार र दरबारक्षेत्र अहिले पनि वीरगाथा सम्झाउने इतिहास पर्यटकका लागि अध्ययनको विषय हो ।
नियात्राकारहरु इतिहासको खोजकर्ताहरुको लागि यो क्षेत्र ज्ञान भण्डार हो । १७९४ सालमा तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेनसँग राजा पृथ्वीनारायण शाहले विवाह गरेका थिए । त्यसबेला मकवानपुर शक्तिशाली राज्यका रूपमा परिचित थियो ।
पृथ्वीनारायण शाहले विवाह गरेको २५ वर्षपछि अर्थात् ९ भदौ १८१९ मा गोर्खाली सेनाले मकवानपुरलाई आफ्नो अधीनमा लिएका थिए भन्ने इतिहासमा उल्लेख छ ।
खोजकर्ता केदार न्यौपानेका अनुसार मकवानपुरगढी सेन वंशका राजाले १३ औं शताब्दीको सुरुतिर यहाँ शासन गरेका थिए । सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिगबन्धन सेनसम्मका १० पुस्ताले करिब ३ सय वर्षसम्म मकवानपुरगढीमा शासन गरेका थिए ।
उतिबेला पनि मकवानपुर स्वतन्त्र राज्य थियो । त्यसको राजधानी मकवानपुरगढी । त्यहाँ १२५८ तिरै राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरका राजा बने ।
मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हुन् । उनलाई नेपाल एकीकरण नायक पृथ्वीनारायण शाहले पराजित गरेका । न्यौपाने भन्छन् आफ्ना सेना धमाधम मारिन थालेपछि राजा दिग्बन्धन भागेर हरिहरपुरगढीतर्फ लागेका थिए, तर नेपाली सेनाले हरिहरपुरगढी पनि आक्रमण गरेर जितेका थिए ।
मकवानपुरगढी मकवानपुरको मात्र नभएर नेपालकै ऐतिहासिक महत्वको धरोहर हो । हरिपुर विजयपछि बंगालका नबाब मिर कासिम अलीसँग सहयोग माग्न गएका थिए ।
नबाब अलीको सहयोगमा २ हजार लडाकु र १ हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर मकवानपुरगढीमा १० माघ १८१९ मा आक्रमण गरेका थिए ।
अबको बाटो
राजा मुकुन्द सेन नै भन्ने गर्दथे रे ‘मकवानपुर सुन्दर र स्वतन्त्र राज्य हो ।’ अहिले हामी संघीय संरचना कार्यान्वयनको चरणमा छौ । स्थानीय, संघ र केन्द्र सरकारले समृद्ध नेपाल सुखि नेपाली अभियान लिएको छ ।
मकवानपुरगढी गाँउपालिका (स्थानीय सरकार)ले पनि मकवानपुरगढी गाउँपालिकालाई अब पनि सुन्दर र स्वतन्त्र बनाउनु आवश्यक छ । हाम्रो आर्थिक समृद्धिको बलियो आधार यही ऐतिहासिक धरोहर बन्न सक्छ ।
यसलाई सोही युग झल्कने गरी मर्मत र सम्भार गरिनु आवश्यक छ ।
शिलापत्रबाट साभार