रातोमच्छिन्द्रनाथ जात्रा

राजितवहादुर श्रेष्ठ
८ भाद्र २०७७, सोमबार १०:१५

१. पृष्ठभूमि
नेपाल विविध भाषाभाषी, जातजाती र धर्मालम्बीहरुको स्वतन्त्र, साझा फुलबारीको रुपमा आदिकालदेखि हिमालको शितल छहारीमा विराजमान छ । विश्वमानचित्रमा अत्यन्त न्युन भुभाग ओगटे पनि हिमाल, पहाड, तराइको प्राकृतिक मनोरम र यहाँका कर्मठहातहरुद्वारा सिर्जित ऐतिहासिक सम्पदाहरुले विश्वमानवलाई चकित बनाइएको छ । विश्वसम्पदा सूचीमा यहाँका ९ सम्पदालाई सूचीकृत गरिनु नै यसको दरो प्रमाणको रुपमा लिन सकिन्छ ।

विश्वसमक्ष नेपालको चर्चा हुनेमा उच्चशिखर सगरमाथा, बुद्ध, सीता लगायत यहाँका विविध जातजातीहरुबाट सिर्जित मौलिक संस्कृति, रितिरिवाज पनि हो । यसैगरी काठमाडौं उपत्यकामा आदिकालदेखि भुमिपुत्रका रुपमा स्थायी बसोबास गरिंदै आएका संस्कृतिप्रेमी नेवारहरुको मौलिकभाषा, लिपि, साहित्य, संस्कृति पनि आज विश्वसामु चर्चित छ । नेवारहरुको संस्कृतिअन्तर्गत रहेको विश्वकै सवभन्दा लामो समय मनाइने जात्राहरु मध्ये एकको रुपमा स्थापित भएको मच्छिन्द्रनाथ जात्रा पनि आज विश्व समक्ष चर्चाको विषय बनेको छ ।

२. नेवारहरुले मनाइने जात्राहरु

इन्द्र जात्रा, गाइजात्रा , घोडेजात्रा, चकंद्यः जात्रा, जिब्रो छेड्ने जात्रा, त्रिशुल जात्रा (मचातिया जात्रा), दीपंकर जात्रा, दीपंखा जात्रा, पचली भैरव जात्रा, वज्रजोगिनी जात्रा, वाघ भैरव जात्रा, बालकुमारी जात्रा, बिस्केट जात्रा, भैरव रथ जात्रा, मतयाः, महालक्ष्मी जात्रा, रातो मच्छेन्द्रनाथ रथजात्रा, सात गाउँले जात्रा, कुमारी जात्रा, सेतोमच्छिन्द्रनाथ जात्रा, भैरवजात्रा, दोलखामा मनाइने रातोमच्छिन्द्रनाथ जात्रा आदि ।

माथि उल्लेखित विभिन्न जात्राहरु आजसम्म पनि नेवारहरुले हर्षोलासका साथ मनाउँदै आएका छन् । विशेषगरि ललितपुरमा मनाइने रातोमच्छिन्द्रनाथ जात्रालाई राष्ट्रिय जात्राको रुपमा राज्यले लिइएको छ । राष्ट्रिय धरोहरका रुपमा रहेको यस जात्रामा राष्ट्र प्रमुख स्वयं उपस्थित हुने गर्दछ भने यसै जात्रा अन्तर्गतको भोटो जात्रामा सार्वजनिक विदासमेत दिने ब्यवस्था रहेको छ । रातोमच्छिन्द्रनाथ जात्रा राष्ट्रिय गुथि संस्थान सरकारीस्तर र विभिन्न नीजिगुथिहरुको पहलकदमीमा सम्पन्न गरिन्छ । नेवारहरुको संस्कृतिअन्तर्गत रहेको विश्वकै सवभन्दा लामोसमय मनाइने जात्राहरुमध्ये एकको रुपमा स्थापित भएको मच्छिन्द्रनाथ जात्रा पनि आज विश्वसमक्ष अध्ययनको विषय भएको छ ।

३. रातोमच्छिन्द्रनाथ

सम्पूर्ण मानवजातीकै साझा सम्पदाको रुपमा रहेको नेपालको रातोमच्छिन्द्रनाथ जात्रामा विशेषगरि रातोमच्छिन्द्रनाथ आकर्षणको केन्द्र मानिन्छ । धार्मिक एकता र सहिष्णुताको प्रतिकको रुपमा रहेको रातोमच्छिन्द्रनाथलाई विभिन्न सम्प्रदायहरुले आआफ्नै आस्था र विश्वासका साथ पुजिन्छन् ।

बौद्धधर्मालम्वीहरु करुणामय, आर्यवलोकितेश्वर, बुंगमलोकेश्वर, पद्मपाणीलोकेश्वर, लोकनाथको रुपमा पुकारिन्छ भने वैष्णवहरु इन्द्र र नाथ सम्प्रदायहरु मच्छिन्द्रनाथ (मत्स्येन्द्रनाथ)को रुपमा पुकारिन्छ । यसैगरि शैवहरु – शम्भु वा शिवका रुपमा पनि पुजिन्छन् । रातो वर्णको हुनाले रातोमच्छिन्द्रनाथ र ललितपुरको बुंगमती स्थित मन्दिरमा मच्छिन्द्रनाथ विराजमान हुने हुँदा बुंगद्यःको रुपमा पनि चिनिन्छ । रातोमच्छिन्द्रनाथलाई अन्नका देवटाका रुपमा लिइन्छ ।

मच्छिन्द्रनाथ ललितपुर लगायत काठमाडौंको जमल, चोभार, भक्तपुरको नालामा पनि पाइन्छ । जमल र नालाको मच्छिन्द्रनाथको वर्ण सेतो रहेको छ भने चोभार र बुंग (ललितपुर)को मच्छिन्द्रनाथको वर्ण रातो छ । यी चारै मच्छिन्द्रनाथलाई चार दिदीबहिनी वा दाजुभाइका रुपमा पनि लिने गरिएको छ भने यी बाहेक दोलखामा पनि रातोवर्णको मच्छिन्द्रनाथ रहेको छ ।

३.१ उपत्यकामा रातो मच्छिन्द्रनाथको आगमन
रातोमच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा आगमन बारे एउटा रमाइलो जनश्रुति रहेको छ । उक्त श्रुतिअनुसार लिच्छवि राजा नरेन्द्रदेव(ईसं ६४३–६७९)को राज्यकालमा काठमाडौं उपत्यकाका जनताहरुले अनावृष्टिका कारण दुःख भोग्न परिरहेको थियो । तत्कालिन ज्योतिषविद्हरुले गोरखनाथ रिसाई सम्पूर्ण नागहरुलाई आफ्नो बशमा पारि आसन बनाइबसेकाले समयमा वर्षा नभएको भन्ने चाल पाएछ र भारतस्थित कामरुकामाक्षा(आसाम)मा यक्षयक्षीणीका पुत्रका रुपमा जन्मनु भएका देवअंश, गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा आगमन गराउन सके गुरुको सम्मानार्थ गोरखनाथ आफ्नो आसनबाट उठी नागहरुलाई मुक्त गराउँछ र त्यसपछि अनावृष्टिबाट राहत मिल्छ भन्ने सुझाव तत्कालिन राजा नरेन्द्रदेवलाई दिएछन् ।

जीवनयापनका लागि कृषिमै भरपर्नुपर्ने जनताहरुको पीर मर्कालाई राम्ररी बुझ्ने राजाले तत्काल काठमाडौंका वन्धुदत्त तान्त्रिकाचार्य र ललितपुरका ललित भन्ने भरियालाई झिकाई आसामतिर लम्के । विभिन्न तान्त्रिकसाधनबाट मच्छिन्द्रनाथको परिवार यक्षयक्षिणीहरुलाई ललाइ फकाइ तथा उनीहरुको अवरोधका बाबजुद पनि तान्त्रिकशक्ति प्रयोग गरी रातोमािच्छन्द्रनाथलाई राजा नरेन्द्रदेवको नेतृत्वमा उपत्यका भित्र्याइयो भन्ने किम्वदन्ती छ । यक्षयक्षिणीहरुको अवरोधका कारण काठमाडौंको कुदुवालबाट मच्छिन्द्रनाथको आत्मा मात्र कलशमा राखी ल्याइएको भन्ने पनि भनाइ छ । मच्छिन्द्रनाथको आगमनपछि काठमाडौं उपत्यकामा वर्षा भई सम्पूर्ण जनताहरुले हर्षोलाष गरे भन्ने मान्यता छ ।

मच्छिन्द्रनाथको आमाले आफ्ना पुत्रलाई काठमाडौं लान नदिन दरवारको ढोकामा केश भिजाई सुतेका रहेछन्, तर पनि वन्धुदत्तको तान्त्रिक प्रभावका कारण मच्छिन्द्रनाथ आफ्नो आमाको सम्पूर्ण कपाल छलेर ढोकाबाट निस्कंदा, एउटा मसिनो कपाल चाल नपाई नाघ्न पुगेकाले शरिर अपांग भएको र मुख रातो भएको भन्ने किम्वदन्ती छ । त्यसैले मच्छिन्द्रनाथसंग बरदान स्वरुप स्वास्थ्य लाभ माग्न नहुने भनाइ आजसम्म यथावत छ ।

यसरी राजाको नेतृत्वमा मच्छिन्द्रनाथ ल्याइएपनि ललितपुरका ललित भन्ने भरियाको चातुर्यताका कारण मच्छिन्द्रनाथ भक्तपुर तथा काठमाडौं लान नपाएको अर्को किम्वदन्ती पनि जोडिएको छ । काठमाडौं, भक्तपुर वा ललितपुर मध्ये मच्छिन्द्रनाथलाई कहाँ विराजमान गराउने भन्ने विषयमा राजा, तान्त्रिक र ललित भरिया बीच विवाद हुँदा ललितपुर निवासी ललितचा भन्ने भरियाले टोल नायकलाई आफ्नो वशमा पारि मच्छिन्द्रनाथलाई ललितपुरमै राख्ने गलत निर्णय गराइएको र सो निर्णयले गर्दा उक्त नायक सातवटा उगलबाट खसी तत्काल देहान्त भएको भनाइ छ ।

३.२ मच्छिन्द्रनाथ तथा मीननाथ अवस्थित स्थान

प्रत्येक वर्ष ललितपुरमा राष्ट्रिय पर्वको रुपमा मनाइने प्रसिद्ध बुंगःद्यः (जसलाई लोकहरु लोकनाथ, करुणामय, लोकेश्वर, मच्छिन्द्रनाथ वा रातो मच्छिन्द्रनाथको नाउँबाट पनि पुकारिन्छ) को रथजात्रा र ललितपुरकै अर्को प्रसिद्ध चाक्बाहाःद्यः (जसलाई लोकहरु चखुंबाहाद्यः, चाक्वाःद्यः, चक्वाद्यः, चाकुवाहाःद्यः, जटाधारी लोकेश्वर, धम्र्मराज जटाधारी लोकेश्वर, जन्मपाणी लोकेश्वर, यमआय्र्यावलोकितेश्वर, मीननाथ आदिको नाउँबाट पनि पुकारिन्छ) को समेत सँगसँगै रथजात्रा गरिने परम्परा छ । बुंगद्यःलाई ललितपुरस्थित दुई भिन्दा भिन्दै स्थान बुंग ‘बुंगमती’ र तःबहाः ‘तंगल’ स्थित मन्दिरमा विराजमान गराईन्छ । सामान्यतयाः ६ महिना बुंगमा र अर्को ६ महिना तःबहाःमा विराजमान गराईन्छ । यसैगरि अर्को चाक्बाहाःद्यःलाई ललितपुरस्थित चुकबहाः(टंगःबाहा)मा विराजमान गराईन्छ ।

३.२.१ बुंगमती

ललितपुर जिल्लाको दक्षिण भेगमा रहेको प्राच ीन वस्तीहरु मध्ये बुंगमती पनि एक हो । बुंगमती पाटनको जावलाखेलबाट लगभग ६ किमी दक्षिणतिर पर्दछ । बुंगमती पुग्न पहिले नख्खु नदी तर्नु पर्दथ्यो तर हाल पक्की पुल बनाइसकेकोले नदी तर्नु पर्ने आवश्यकता छैन । शायद पहिले पुलको ब्यवस्था नभएकोले मच्छिन्द्रनाथको रथ तान्दा नदी तराइन्थ्यो । पक्की पुल निर्माण भई सकेपछि पनि यो मान्यताले गर्दा हालसम्म पनि वा¥हवर्षमा एक पटक बुंगमतीबाट रथ पाटन तान्दा पुलबाट नल्याई नदी नै तराएर ल्याइन्छ ।

सोही नख्खु नदी तरेर भैंसेपाटी हुँदै बुंगमती पुगिन्छ । बुंगमतीको घनावस्ती वीचमा मच्छिन्द्रनाथको मन्दिर रहेको छ । यही मन्दिरमा मच्छिन्द्रनाथको मूर्ति विराजमान गराईन्छ । बुंगमतीस्थित जावलाखेलको पश्चिमतिर रहेको मच्छिन्द्रबहाल छिर्ने दुईटा ठूलो द्वार छ – एउटा उत्तरतिर र अर्को दक्षिणतिर । शिखरशैलीमा निर्माण गरिएको मन्दिर उत्तराभिमुख रहेको छ । मन्दिरको ठीक अगाडि खाडल छ जहाँ अपुष्ट देवताहरुको मूर्ति छरिएर रहेको छ भने मन्दिरको दायाँ छेउमा प्राचीन ढुंगे धारा छ । यसैगरि मन्दिरको वायाँतिर महांकालको मुखुण्डो रहेको सानो मन्दिर र राधाकृष्णको एकतल्ले तहरा भजन घर छ । यो सँगै मच्छिन्द्रनाथको महास्नान गराईने न्हवं दबू पनि छ भने मन्दिरको ठीक पछाडी हयग्रीव भैरवको मन्दिर रहेको छ जहाँ भैरवको विशाल मूर्ति विराजमान गराईएको छ । मन्दिर परिसरभित्र नयाँ, पुराना र ठूला, साना गरि झण्डै १५ वटा जति चैत्यहरु स्थापना गरिएको छ ।

३.२.२ तःबहाल

पाटन दरवारस्क्वाय्बाट दक्षिणतिर टंगःटोलमा अवस्थित यस तःबहालमा मच्छिन्द्रनाथको मन्दिर रहेको छ । मंगलबजारबाट लगनखेल जाने मुख्य सडकको बायाँ टंगःबहाल र दायाँ तःबहाल अवस्थित छ । टंगःबहालमा चाक्वाद्यः ‘मीननाथ’को मन्दिर रहेको छ । तःबहाल छिर्ने मुख्य दुई द्वारहरु छन् – पूर्व दिशामा र अर्को पश्चिम दिशामा । बहाल छिर्ने पूर्व दिशाको द्वारको दायाँपट्टि एउटा मन्दिर छ, जस्मा बलबल देवता जसलाई बलभद्रको रुपमा पनि पुजिन्छ, विराजमान छ । काठमाडौं उपत्यकामा सवभन्दा पहिले खेत खनी उब्जाउ योग्य भुमि बनाएको किम्वदन्तीले गर्दा बलबललाई सम्मानपूर्वक आजसम्म पूजाआजा गरिंदै आएको छ । तर आश्चर्य कुरा के भने बलभद्रको हतियार वा खेतीमा प्रयोग गर्ने साधन हलो हो । उपत्यकामा हलो कै प्रयोगमा निषेध गरिएको छ ।

बलबल पुजा गरि बहाल छिर्दा बहालको बिचमै एउटा ठूलो तीन तल्ले प्राचीन कलात्मक मन्दिर देखिन्छ त्यही मच्छिन्द्रनाथको मूर्ति विराजमान गराइन्छ । यो मन्दिर कहिले र कस्ले स्थापना ग¥यो भन्ने ठोस प्रमाण भेटिएको छैन तर काठमाडौंका तत्कालीन राजा प्रताप मल्ल, ललितपुरका राजा श्रीनिवास मल्ल आदि राज्य प्रमुखहरुले विभिन्न वस्तुहरु भेटी चढाएको प्रमाण भेट्टिएकाले उनीहरुको शासनकालभन्दा धेरै अगाडि मन्दिरको निर्माण कार्य सम्पन्न भएको अनुमान हुन्छ । श्रीनिवास मल्लले मच्छिन्द्रनाथको जात्राको समयमा पालना गर्नु पर्ने नीतिनियमहरु शिलापत्रमा कुड्न लगाई उक्त शिलापत्र सोही मन्दिरको पश्चिमाभिमुख द्वार भित्र स्थापना गरेको छ । श्रेयोस्तु नेसं ७९३ फाल्गुण शुक्ल दशमी आदित्यबारको दिन यो शिलापत्र स्थापना गरियो, यस शिलापत्रमा लेखिएको नीति नियम राजाप्रजा सवैले पालना गर्नु पर्दछ भनी राजालाई समेत कानून अन्तर्गत वाँडिएको नेपालको सर्वप्रथम कानूनको रुपमा यसलाई लिन सकिन्छ ।
मन्दिर उत्तराभिमुख रहेको छ भने अगाडि विभिन्न देवता र पशुपन्छिहरुको स–सानो मूर्ति खम्बाहरुमा स्थापना गरिएको छ । यसैगरि मन्दिरको पछाडि ठूलो प्राचीन चैत्य र आगम रहेको छ ।

३.२.३ चुकवहाः (टंगःबाहाः)

ललितपुरको मंगलबजारबाट दक्षिणपट्टिको बाटो हुँदै जाँदा लगनखेल नपुग्दै टंगः टोलको पूर्व दिशामा अवस्थित एक प्राचीनतम विहारको रुपमा परिचित चुकबहाःलाई बालार्चनदेव संस्कारित जेष्ठवर्णमहाविहारको नामले समेत सम्वोधन गरिन्छ । जुन चाक्बाहाः, चाकुबाहाः वा टंगःबाहाका रुपमा पनि परिचित छ । यो विहार ललितपुरको प्रसिद्ध अठार प्रमुख महाविहारहरुमा जेठा वा सर्वप्राचीन विहारको रुपमा लिने गरिन्छ । यसै विहारको मूलमन्दिरमा चाक्वाहाद्यः ‘मीननाथ’ विराजमान गराईएको छ ।

मच्छिन्द्रनाथको आगमन भन्दा अगाडि अंशुवर्माको समयमा मीननाथको स्थापना भईसकेको विश्वास गरिन्छ । कुनु शर्माद्वारा लिखित नेसं ७७२ तिरको कीर्तिपताकामा पाटन शहरका विभिन्न टोलहरुको नाउँ उल्लेख गरिएका छन जसमध्ये खिमटोलमा मीननाथको मन्दिर साथै तवःविहारमा रातो मच्छेन्द्रनाथ रहेको भनी उल्लेख गरेको पाइन्छ । यसबाट टंगःटोललाई पहिले खिमटोल भन्ने गरिन्थ्यो भनी अनुमान गर्न सकिन्छ । यस विहारको एउटा चैत्यमा राखेको नेसं ७९३को अभिलेखमा यस विहारलाई श्री तानिग्ल विहार भनी उल्लेख गरिएको छ भने ललितपुरको रुद्रवर्ण महाविहारको मूल आगममा रहेको ताडपत्र तमसूकमा उल्लेख भएका विहारहरुको नाम मध्ये यस विहारलाई श्री तनिग्वल महाविहार भनी वर्णन गरेको पाइन्छ ।

ललितपुरको टंगल टोलमा अवस्थित चुकबहाल छिर्ने मूल ढोकाको बाहिर एउटा प्राचीनतम टंगःहिटी ‘टंगल धारा’ रहेको छ । धाराको वरिपरि प्राचीन चैत्य, साना साना शिलामूर्तिहरु, एक शिवलिङ्ग साथै दुईवटा लिच्छवीकालिन शिलालेख पाइन्छ । ढुङ्गे धाराको बाहिर प्राङ्गणमा दुईवटा चैत्य र एउटा धर्मधातु निर्माण गरिएको छ । यस बहालको मूल प्रवेशद्वारको दायाँबायाँ यमदूतका रंगीन प्रस्तर मूर्ति राखिएका छन् । मूलद्वारबाट भित्र पस्नेवित्तिकै दायाँबायाँ दुईवटा सतल बनाइएको छ । ढोकाको ठीक अगाडि मूलमन्दिर निर्माण गरिएको छ । पैगोडा शैलीमा निर्माण गरिएको यसै मूलमन्दिरमा मीननाथ विराजमान गराइएको छ । मन्दिर नितँ ‘दुई तल्ला’ को छ भने मीननाथको महास्नान गराउन मन्दिरको ठिक अघिल्टिर उत्तरपट्टी न्हवं दबू ‘महास्नान डबली’ बनाइएको छ । मन्दिरको पछाडी इशान दिशामा इनारसँग यमद्वार र महांकाल रहेको छ । मानिसको मृत्युपश्चात यमदूतहरुले उक्त द्वारबाट स्वर्ग वा नरक पु¥याइन्छ भन्ने विश्वास गरिन्छ । विहारको प्राङ्गणमा ठूला साना गरी सातवटा चैत्य र दुईवटा धर्मधातु स्थापित गरिएको छ । विहारकै संघ सदस्यहरुको निवासगृहले विहारलाई घेरिएको छ ।

३.३ रथ निर्माण विधि

मच्छिन्द्रनाथको महास्नान (वैशाख कृष्ण प्रतिपदा÷चौलागा प्रतिपदा) र दशकर्म विधिको समाप्तिपछि रथ निर्माणको कार्य शुरु गरिन्छ । सामान्यतया पुल्चोकमा रथ निर्माण गरिन्छ तर बा¥हवर्षे मेलामा एकपल्ट बुंगमतीमै रथ निर्माण गरी तान्ने परम्परा छ । मत्स्येन्द्रनाथको रथ शिखराकार भई माथिको गोलाइ सानो हुँदै गएको हुन्छ । रथ निर्माण गर्दा संलग्न हुने समुदायहरु परम्परागत रुपमै निर्धारण गरिएका हुन्छन् ।

बाराही – रथ निर्माण गर्दा काठको बन्दोबस्त र काठका सम्पूर्ण काम यिनीहरुले नै सम्पन्न गर्छन् । यिनीहरुको २४ सदस्यीय गुठी हुन्छ । गुठी संस्थानले यिनीहरुको नियुक्ति गर्ने प्रचलन भएतापनि रथमा काठको काम गर्न बाराहीहरु मध्येबाटै नियुक्त गर्नुपर्ने प्रावधान छ ।

यंवाः – मत्स्येन्द्रनाथको रथ तान्नका निम्ति आवश्यक पर्ने डोरी, बेतको बन्दोबस्त गर्नु यिनीहरुका दायित्व हो । यस कामका लागि प्रत्येक वर्ष गुठी संस्थानबाट ३० जना नियुक्त गरिन्छ । सफलतापूर्वक काम सम्पन्न गर्न यिनीहरुले महाकाल दीक्षा लिनुपर्दछ । यिनीहरुलाई मात्र रथको टुप्पोसम्म चढ्न पाउने अधिकार दिइएको छ ।

घःकू – रथयात्रा भइरहँदा पांग्रामा ब्रेक लगाउने र आवश्यकता अनुसार रथलाई मोड्ने जिम्मेवारी घःकूहरुको हुन्छ । यिनीहरु १२ जना हुन्छन् । यिनीहरुको काम अत्यन्तै जोखिमपूर्ण हुन्छ । यिनीहरुले भैरव दीक्षा ग्रहण गर्नुपर्छ ।
रथ निर्माण गर्दा सर्वप्रथम जुन स्थानमा रथ निर्माण गर्ने हो त्यहाँ जगस्वरुप हाम्वःकी (हनुमन्त कीला) गाडिन्छ । त्यसपछि रथ निर्माण कार्य विधिवत् रुपले शुरु हुन्छ । रथमा हालिने चारवटा पांग्रा यम्पि महाविहार, ईबहीको पछाडिपट्टि रहेको बैलाछेँ ननिमा तयार गरिन्छ । पांग्रा बनाउन नसिँ जातको काठ प्रयोग गरिन्छ ।

पांग्रालाई मत्स्येन्द्रनाथलाई उपत्यकामा ल्याउँदा बोकेर ल्याउने चार भैरवको प्रतीकको रुपमा लिइन्छ । ती चार भैरवहरु हरिसिद्धि, हयग्रीव, नन्दिकुन्दि र लुप्तहास हुन । उक्त पांग्राले एक फन्को घुम्दा जति दूरी पार गर्छ, मत्स्येन्द्रनाथको रथको उचाइ पनि त्यति नै हुन्छ । पांग्राको बीचमा प्वाल पारेर धुरा ९ब्हभि० जोडिन्छ जसलाई आसिँ भनिन्छ । पहिलेपहिले काठकै आसिँ राखिन्थ्यो तर आजभोलि व्यावहारिकतालाई ध्यानमा राखी धातुको राख्ने गरिन्छ । रथजात्राको बेलामा आसिँ भाँच्चिएर धेरै दुर्घटना भएका इतिहासहरु छन् । नेसं ८४७ को रथयात्रामा ३४ पल्ट आसिँ भाँच्चिएको थियो । पांग्रा र आसिँलाई बेतले बाँधिन्छ ।

यसरी बाँधिएका डल्लाहरु ८ वटा हुन्छन् जसलाई गथांमुगः भनिन्छ । गथांमुगःलाई ८ वटा पर्वत (सुमेरु, युगंधर, ईषावर, अडिरक, सुदर्शन, अश्वकर्ण, विनतक, निमिन्धरा) को रुपमा लिइन्छ । पांग्राको धुरा माथिबाट एउटा लामो काठ तेर्सो पारेर राखिन्छ जसको अगाडिको भाग घुमाउरो परेको हुन्छ । यस काठलाई घःमा÷धःमा भनिन्छ र यसलार्य कर्कोटक नागको प्रतीक मानिन्छ । रथ तान्न यसैमा डोरी बाँध्ने गरिन्छ । घःमा बनाउन नागब्वसिँ काठको प्रयोग गरिन्छ । धःमाको लम्बाइ र रथको उचाइ बराबर हुन्छ भन्ने जनधारणा रहेको पाइन्छ । घःमाको अगाडिपट्टिको घुमाउरो भागमा भैरवको मुकुण्डो राखिन्छ । यस भैरवलाई कसैले विघ्नान्तक भैरव भन्छन् भने हेमराज शाक्यले यसलाई ‘विन्दुपात्रधारी भैरव’ भनेका छन् । धःमा राखिसकेपछि रथ निर्माण गर्न १६ वटा ठूल्ठूला र अग्ला काठहरु ठड्याइन्छन् ।

यो काठलाई लःसिँ (रथसिँ÷रथ बनाउन प्रयोग गरिने काठ) भनिन्छ । यसको लागि स्वसिँ जातको काठ प्रयोग गरिन्छ। मत्स्येन्द्रनाथको रथ १३ तल्लामा विभाजित गरिएको हुन्छ । पहिलो तल्लामा कौसी जस्तो बनाइएको हुन्छ जसको बीचमा मत्स्येन्द्रनाथको मूर्ति राखिएको हुन्छ । मूर्ति रहेको कोठाको सिरानीमा तोरण राखिएको हुन्छ । तोरणको बीचभागमा अमिताभ बुद्धलाई राखिएको छ । कौसीको चारपाटाको दायाँपट्टि विष्णुको प्रतिनिधि स्वरुप सप्तगरुड, बायाँपट्टि ब्रम्हाको प्रतिनिधि स्वरुप सप्तहंस, पछाडिपट्टि शिवको प्रतिनिधि स्वरुप सप्तबृषभको मूर्ति राखिएको हुन्छ। मत्स्येन्द्रनाथको मूर्ति पछाडि अर्को एउटा मूर्ति राखिएको हुन्छ जसलाई ‘भीमेश्वर तथागत’ भनिन्छ ।

लोकेश्वरले उनलाई भविष्यमा बुद्ध बन्नेछौ भनी आशिर्वाद दिएको कुरा गुणकारण्डव्यूहमा वर्णन गरिएको छ । रथको सबभन्दा माथि बाय्म्वः राखिन्छ जसलाई कमलको आसन मानिन्छ । बाय्म्वःमाथि हिरण्यवर्ण महाविहारबाट ल्याइएको वज्रसत्वलाई विराजमान गराइन्छ । बाय्म्वःको चारैतिर घण्टाहरु झुण्ड्याइएको हुन्छ । यसलाई मत्स्येन्द्रनाथको धर्म सन्देश चारैतिर फैलाउन राखिएको भनिन्छ ।

रथ तान्ने क्रममा दायाँबायाँ ढल्किंदा सीधा पारी सन्तुलन मिलाउन रथको दायाँबायाँ पनि डोरीहरु राखिएका हुन्छन् । यस डोरीलाई जंगः भनिन्छ । यसले बासुकी नाग र शेष नागको प्रतिनिधित्व गरेको मानिन्छ । जात्रा अवधिभर रथमा कतै नोक्सान नपुगी, कुनै विघ्न नआई जात्रा सकियो भने शुभकारक मानिन्छ । कतै तान्नै नमिल्ने गरी रथ बिग्रियो भने पुनः हाम्वःकी गाडी रथ निर्माण गर्नुपर्दछ । प्रत्येक बा¥ह वर्षमा भने बुंगदेखी तान्नु पर्ने भएकाले सम्पूर्ण सामग्रीहरु नयाँ हाली रथ निर्माण गरिन्छ ।

ललितपुरमा मनाइने रातोमच्छिन्द्रनाथ जात्रा र सिक्किम राज्यबीच निकै गहिरो सम्वन्ध गाँसिएको छ । नेसं ६८५ (विसं १६२२) मा कलाकार अभयराज शाक्यको नेतृत्वमा ललितपुरस्थित ओकुबहालमा भब्य महाबुद्ध (महाबौद्ध) मन्दिरको निर्माणकार्य थालनी गरियो । सोही कलाकारका नाती पण्डित जयमुनिले उक्त मन्दिर नेसं ७२१ मा निर्माण कार्य सम्पन्न गरी तत्कालिन स्वतन्त्र सिक्किम राज्यको दरवारमा प्रसाद चढाउन लाँदा राजा खुशी भई चाँदीको थालभरि स्वर्णभेटि उपहार स्वरुप प्रदान गरिएको थियो ।

रातोमच्छिन्द्रनाथका अनन्य भक्त जयमुनिले उक्त उपहार नीजि कार्यमा खर्च नगरि मच्छिन्द्रनाथको रथलाई भब्य बनाउने मनसायमा रथको चतुद्र्वार, भगिं, तोरण आदि सुवर्णमय गरि लुसाहापौ बनाइदिने निर्णय गरे । उक्त निर्णय बमोजिम महाबौद्धका कलाकारहरुको सक्रियतामा नेसं ७७४ वैशाख शुक्ल चतुर्थि बुद्धबारका दिन गाःबहाल छ्वय्लाभुको शुभदिनमा मच्छिन्द्रनाथको रथमा लुँसाहापौ चढाइएको थियो । उक्त दिनदेखि रातोमच्छिन्द्रनाथको विमान सुवर्णमय भई यसको शोभा अझ बढेको पाइन्छ । अतः रातोमच्छिन्द्रनाथको रथलाई शोभायमान बनाउनमा सिक्किम र सिक्किमबासीहरुको सहृदयीभाव पाइन्छ र मच्छिन्द्रनाथको रथजात्रा जीवित रहेसम्म रथमा सिक्किमबासीहरुको प्रतिछाँया भेटाइन्छ ।

४. मच्छिन्द्रनाथ रथजात्रा वर्णन

मच्छिन्द्रनाथको रथजात्रा विक्रमाब्दको सातौं शदीमा ललितपुरका तत्कालीन राजा वरदेवद्वारा संचालन गरेको विश्वास गरिन्छ । यद्यपि यसको अमुक प्रमाण हालसम्म पाइएको छैन । शुरुमा मच्छिन्द्रनाथको रथ ललितपुरको दक्षिण भेग बुंगमतीदेखि पाटनसम्म तानेर विभिन्न स्थानमा जात्रा मनाइँदै जावलाखेल हुँदै पुनः बुंगमतीसम्म तानेरै
फर्काइन्थ्यो । यसरी लामो बाटोमा रथ तान्नु पर्दा आर्थिक लगायत विभिन्न समस्याहरु देखा पर्न थाले । यसले गर्दा वा¥हवर्षमा एकचोटि मात्र बुंगमतीबाट तान्ने र अन्य वर्षमा ललितपुरको पुल्चोकबाट तानेर जावलाखेल पुगेपछि खतमा राखी मच्छिन्द्रनाथ बुंगमती पु¥याइने प्रचलनको थालनी भयो ।

४.१ महास्नान

मच्छिन्द्रनाथ कार्तिकदेखि चैत्रसम्म ६ महिना पाटनको तःबहालमा र रथयात्रा सकेर बाँकी रहेको समय बुंगमतीमा राखिने चलन छ । जसअनुसार मच्छिन्द्रनाथलाई कार्तिक महिनाको शुभमुहर्तमा खतमा राखी पाटनको तःबहालस्थित मच्छिन्द्रमन्दिरमा विराजमान गराईन्छ । पाटनबासीहरु मच्छिन्द्रनाथ लिन भनी बाजागाजासहित बुंगमतीमा लस्कर जान्छन् । मच्छिन्द्रनाथ लिन जानका लागी भनी पाटनमा छुट्टै नीजि गुथिको समेत ब्यवस्था गरिएको छ । तःबहाल ‘मच्छिन्द्रबहाल’मा मच्छिन्द्रनाथ विराजमान गराईसकेपछि चैत्र कृष्ण पारुको शुभमुहर्तमा न्हवं ‘महास्नान’ गराइन्छ । महास्नानको चारदिन अघिदेखि पुजासामग्री जुटाउन न्हवंकी (अक्षता, कपास, दक्षिणा आदि) संकलनका लागी पाटनका टोल टोलमा बुंगमतीका सुवाःहरु खटिन्छन् ।

न्हवंकी संकलन गर्नुको अर्थ महास्नानको सुचना प्रवाह गर्नु पनि हो । त्यसपछि चैत्रशुक्ल पुर्णिमाको राति मच्छिन्द्रनाथको जीवन्यास (आत्मा) निकाली एउटा ब्रम्ह क्वं (एकप्रकारको चाँदीको ठूलो भाँडा)मा राखिन्छ । यो कार्यलाई गुह्य आगंपूजा भनिन्छ । यसै राति लगनखेलको मच्छिन्द्रनाथ महास्नान गराइने मण्डपमा पनि पूजा गरिन्छ । यसरी आत्मा निकालेको भोलिको दिन अर्थात चैत्र कृष्ण पारुको बेलुकीपख मच्छिन्द्रनाथको महास्नान गर्न मूर्तिलाई मन्दिरबाट निकाली बाजागाजासहित लगनखेलस्थित माईसिमा÷न्हवंदबू (दुइँमाजु÷महास्नान डवली)मा विराजमान गराईन्छ । यता मन्दिरमा भने मूर्तिको ठाउँमा मच्छिन्द्रनाथको आत्मा राखिएको ब्रम्हक्वं स्थापना गराईन्छ । भक्तपुरका नेकू जातका मान्छेहरुले मच्छिन्द्रनाथको महास्नान गराईन्छ ।

नेकूहरु राजा नरेन्द्रदेवका कान्छा छोराका सन्तानका रुपमा लिइन्छ । महास्नानको मध्यरातमा मूर्तिलाई शवयात्रा गरि तःबहालकै मन्दिरमा पु¥याइन्छ । मूर्तिको शवयात्रा जनमानसले अवलोकन गर्न हुँदैन भन्ने विश्वास छ । महास्नानदेखि सप्तमीसम्म मूर्तिलाई मन्दिरको एक ठाउँमा थन्क्याइ राख्छ । सातदिनसम्म मच्छिन्द्रनाथको आत्मामात्र रहेको तर देह नरहेको भन्ने प्रचलन छ । त्यसपछि अष्टमीको दिनदेखि मूतिलाई दक्षिणतिर फर्काइ घाम ताप्न दिन्छ । मूर्तिको अनुहार विग्रेको भए काठमाडौंको म्हय्पिबाट विशेष पुजाआजा गरि ३२ प्रकारका माटो ल्याई मिलाउँने, रंगरोगन गर्ने आदि गर्दछ ।

त्रयोदशीको दिन मूर्तिमा दृष्टि दिई नेवारहरुले गरिने दशकर्ममध्ये मचाबू ब्यंकेगु ‘अन्नप्रासन’, मचा जंक्व ‘बच्चा पास्ने’, कय्तापुजा ‘व्रतवन्ध’ इहि (बेलविवाह), बा¥हा ‘गुफा राख्ने’, बु¥हा जंक्व ‘बुढा पास्ने’ आदि कर्मकाण्ड गरिन्छ । यसरी पुरुष र महिलालाई गरिने संस्कार मच्छिन्द्रनाथलाई गरिने हुँदा मच्छिन्द्रनाथलाई शिवशक्तिको रुपमा शैवधर्मीहरुले पुजेको पाइन्छ । आमाको मुख हेर्ने आंैशीको दिन मच्छिन्द्रनाथ ल्याउन बाजागाजासहित भक्तजनहरु कुरुवा (कटुवाल दह)मा गई तन्त्रमन्त्र साधना गरी भमरालाई मच्छिन्द्रनाथको स्वरुप मानी कलशमा राखी ल्याउने चलन अद्यापि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*