कोरोना त्रासका विच हरितालिका तीज
नेपाली महिलाहरुको महान चाड तीज यो बर्ष २०७७ भाद्र ५ गते शुक्रवारका दिन मनाइएको छ । नेपाली परम्पराअनुसार द्वितिया देखि पञ्चमीसम्म ४ दिन बिशेष रुपमा मनाइने पर्व हो ।
धार्मिक कथन अनुसार पार्वतीले शिवजीलाई श्रीमान् पाउनको लागि निराहार ब्रत बसि सफलता मिलेको किंवदन्ती छ । सो अनुसार नेपाली विवाहित महिलाले आफ्नो श्रीमानको आयु लामो होस शुख, समृद्धी होस भनेर व्रत बसेर पुजाआजा गरेर मनाउँछन भने अविवाहित महिलाले आफुले सोचे जस्तो रोजे जस्तो बर मिलोस भनेर सवैले रातो,हरियो, पहेंलो लुगा अनि चुरा लगाएर सुनका गरगहनामा सजिसजाउ भएर चोक चोकको शिव मन्दिर, शिवालयहरुमा नाचगान गरेर रमाइलो गर्ने गर्छन । आफ्ना दुखका बेदना गीतको रुपमा सुनाउने, मनमा रहेका दुखः पीर चिन्ता नाचागान गरेर सुनाउने भएकोले महिलाहरुको स्वतन्त्रता र सशक्तिकरणको चाडको रुपमा लिईएको पाईन्छ ।
सबै विवाहित महिलाहरु हिजो द्वितियाको दिन माईतमा भेला भइ दर खाने आज विहानै स्नान गरी शिब मन्दिरमा जस्तो पशुपतीनाथको मन्दिर शिवालय आदिमा नाचगान गरेर रमाइलोसंग तीज मनाउने गर्छन भने परम्परामा महिला हिंसा विरुद्धको गीत, महिलाको सहभागिता, राजनैतिक सशक्तिकरण, सामाजिक समावेशी, लैंगिक समानता, नेतृत्वतहमा महिलाको सहभागिता मुलक गानाले समाजमा परिवर्तन आएको महसुस गरेका थिए। तर अहिले व्रत वस्नु अघि स्वास्थको बिषयमा सम्झ्न सके राम्रो अनि सुगर,प्रेसर, थाइराईडका बिरामी आमा, दिदी ,बहिनीहरुले औषधी सेवन गर्नु हुन्छ होला यस्ता विरामीहरुले कसैले खाना खानु अघि नै, कसैले खाना संगै र कसैले खाना खाइ सकेपछि औषधी सेवन गर्नु पर्नेले विचार पुर्याउनु होस स्वास्थ नै सवै कुरा हो स्वस्थ रहे अन्य सबैथोक हो, झन यस्तो कोरोना भाइरसको महामारीवाट सुरक्षित रहन पनि बिचार गर्नुस।
निराहार ब्रत वसेर मन्दिरमा नाच गान गरी रमाइलो गर्ने भएकोले भोक प्यास नै बिर्सेका हुन्थे रे तर पोहोर परार ब्रत बसेर मन्दिर गई नाचगान गरेर भोक प्यास बिर्सेका थिए भने यो बर्षको तीज कोरोनाको कारणले साथीसंङ्गी भेला भएर मन्दिरमा गई नाचगान गर्न नपाउने भएकोले अलि गार्हो महसुस गर्ने हो कि ?
बिश्वव्यापी रुपमा आक्रान्त कोभीड १९ (कोरोना भाईरस) को कारणले निषेधाज्ञा घोषणा भएको छ जस्ले गर्दा मन्दिर जाने, माईत जाने, साथीसङ्गी भेला भई नाचगान गर्न नपाउने भएको कोरोना भाइरसवाट सुरक्षित पारेको महसुस गरेको पाईन्छ ।
ज्यान भए लाख उपाय भने जस्तै यो बर्षको तीजमा रोगप्रतिरक्षात्मक वा शक्ति वढाउने खानेकुरा खाएर आफ्नै घरघरमा गीत बजाएर एक्ला एक्लै भएपनि नाचेर वा शारिरीक व्यायाम गरेर कोरोना भाईरसलाई जितौं अर्को साल फेरी तीज र अन्य चाडपर्व त ।
त्यसैगरी पञ्चमी नुहाउने भनेर खाेला, नदि ताल तलाउमा स्नान गर्ने साथीसंङ्गी भेला भई पुजा लगाउने आदि गरेर तीज पर्व समापन गर्ने चलन छ भने यस बर्ष खोला नदि ताल तलाउको बद्ला आफ्नै घरको धारामा नुहाएर घरमा पुजाको विधि पुरा गरेर तीज पञ्चमी पर्व मनाउँ यो साल कोरोनावाट बच्न र बचाउन सके अर्को अर्को बर्ष पनि तीज आउने नै छ। हरितालिका तीजको शभकामना सवैलाई सुरक्षित रहौं कोरोनावाट बचौं।







