ओली–दाहाल छलफल समाधान उन्मुख

सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् । ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह गरेका थिए । ओलीले त्यस्तो आग्रह गरेको भोलिपल्टै लामो समयदेखि अवरुद्ध दुई अध्यक्षबीचको छलफलले निरन्तरता पाएसँगै नेकपामा देखिएको संकट समाधान हुने संकेत देखिएको छ ।
बिहीबार भएको दुई अध्यक्षबीचको छलफलका क्रममा नेकपामा लामो समयदेखि देखिँदै आएको विवाद समाधान उन्मुख रहेको बताइएको छ । दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको नेकपा स्रोतको दाबी छ । अध्यक्षद्वय ओली र दाहालबीच संवाद टुटेपछि महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मालगायतका नेताहरूले छलफलका लागि पहल गरेका थिए । उनीहरूले बुधबार नै ओली र दाहाललाई छुट्टाछुट्टै भेटेर सहमतिका लागि छलफललाई निरन्तरता दिनुपर्नेमा दबाब दिएका थिए
आठ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच झन्डै चार घण्टा लामो ‘वान टु वान’ छलफल भएको हो । दुवै पक्षले छलफल सकारात्मक भएको बताउँदै थप सहमतिका लागि दुई अध्यक्ष शुक्रबार पुनः छलफलमा बस्ने समझदारी भएको बताएका छन् । खुमलटार स्रोतका अनुसार मुख्यतः दुइटा विकल्पबारे छलफल केन्द्रित भइरहेको छ । जसमध्ये पहिलो विकल्पका रूपमा केन्द्रीय कमिटीको निर्णयअनुसार २५ देखि ३० चैत २०७७ मा महाधिवेशन गर्ने, त्यसका लागि एकता महाधिवेशन आयोजक कमिटी बनाउने र त्यसको नेतृत्व दाहाललाई दिने विषयमा छलफल भइरहेको छ ।
दोस्रो विकल्पका रूपमा केन्द्रीय कमिटीको बैठक बोलाउने सबै प्रस्ताव बैठकमै प्रस्तुत गर्दै त्यहीबाट समाधान गर्ने रहेको छ । दुई अध्यक्षबीच सम्भव भए पहिलो प्रस्तावअनुसार नभए १ सय ५२ केन्द्रीय सदस्यहरूले माग गरेको केन्द्रीय कमिटी बैठक बोलाउने गरी छलफल अगाडि बढिरहेको जनाइएको छ । ‘महाधिवेशन आयोजक कमिटी बनाएर जाऊँ, बरु यसको नेतृत्व तपाईंले नै गर्नुस् भनेर अध्यक्ष दाहाललाई प्रस्ताव आएको छ । यसमा सहमति नभए सबै विवाद केन्द्रीय कमिटीमा लिएर जाऊँ, त्यहीबाट निकास निकालौं भन्ने दोस्रो प्रस्तावमा पनि छलफल भइरहेको छ । धेरै दिन यो गतिरोध राख्ने पक्षमा दुवै अध्यक्ष हुनुहुन्न,’ नेकपा स्र्रोतले भन्यो ।
यसअघिको छलफलमा प्रधानमन्त्री ओलीले मंसिरमै अर्ली महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, सो प्रस्तावमा सहमति हुन सकेन । पार्टी एकताका सम्पूर्ण कामका साथै सदस्यता विवरण टुंगो नलागेको, महाधिवेशनमा विचार, सिद्धान्तको बहससमेत हुने भएकाले पर्याप्त समय नभएकाले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटेको थिएन ।बालुवाटार स्रोतका अनुसार पार्टी एकता र सदस्यता टुंगो लगाउँदै एकता महाधिवेशनको कार्यतालिका, मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्री हेरफेर, अधिकार बाँटफाँट, वैचारिक बहस, आलोचना र आत्म आलोचनालगायतका विषयका आधारमा सहमति खोज्ने काम भइरहेको छ ।
प्रधानमन्त्री ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका थिए । पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउनकै लागि अर्को पक्षले आफूविरुद्ध पत्रकार सम्मेलन गरे पनि आफू चुपचाप बसेर पार्टी एकतालाई बचाउन कोसिस गरिरहेको ओलीको भनाइ थियो । गत २१ साउनदेखि ओली र दाहालबीच संवाद टुटेको थियो । पार्टीभित्रको विवाद पेचिलो बन्दै गइरहेको अवस्थामा पार्टी बैठक अनिश्चित बन्नु र अध्यक्षद्वयकै बीचमा छलफल नहुनुले पार्टी फुट्ने आशंका गर्दै अन्य नेता कार्यकर्ताहरूले सहमतिका लागि दबाब दिँदै आइरहेका छन् ।
अध्यक्षद्वय ओली र दाहालबीच संवाद टुटेपछि महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मालगायतका नेताहरूले छलफलका लागि पहल गरेका थिए । उनीहरूले बुधबार नै ओली र दाहाललाई छुट्टाछुट्टै भेटेर सहमतिका लागि छलफललाई निरन्तरता दिनुपर्नेमा दबाब दिएका थिए ।१० असारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल रहेको भन्दै ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाएपछि पार्टीमा शक्तिसंघर्ष सुरु भएको हो । तर, ओलीले दुवै पदबाट राजीनामा नदिने र दाहाल–नेपाल समूहले दिनैपर्ने अडानले नेकपाभित्रको विवाद पेचिलो बनेको हो ।
स्थायी कमिटी बैठक नसकिँदै १३ साउनमा ओलीले एकतर्फी रूपमा अनिश्चित कालका लागि बैठक स्थगित गरेपछि सोही दिन दाहाल–नेपाल समूहले बैठक राखेका थिए । त्यसयता बैठक बस्न सकेको छैन । ओलीले पहिला सचिवालयको बैठक राख्नुपर्ने अडान लिँदै आएका थिए भने दाहालले पहिला स्थायी कमिटीकै बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्नुपर्ने अडान व्यक्त गर्दै आएका थिए । यही अडानसँगै दाहाल–नेपाल समूहले २१ साउनमा पत्रकार सम्मेलन गरेरै ओलीमाथि समूहगत प्रहार गरेपछि अध्यक्षद्वयबीचको संवादसमेत टुटेको थियो ।
यसैबीच अध्यक्ष ओलीसँगको छलफल सकेर अध्यक्ष दाहालले प्रदेश ५ का केन्द्रीय सदस्यहरूसँग भेटघाट गरेका छन् । यसअघि बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग भेटघाट गरेका थिए । भेटघाट काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजमा भएको थियो । छलफलमा दाहालसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी भएका थिए । छलफलमा सहभागी एक नेताले भेला नभई पार्टीको गतिरोध अन्त्य गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । राजधानीडेलीबाट