कोरोनाभाइरसबाट आइतबार एकै दिन विश्वमा अहिलेसम्मकै धेरै संक्रमित

विश्व स्वास्थ्य संठठनका अनुसार आइतबार विश्वभर एकै दिन अहिलेसम्मकै एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन् । त्यहाँ आइतबार मात्र ५४ हजार ७७१ संक्रमित भेटिए । त्यसपछि अमेरिकामा ३६ हजार ६१७ र भारतमा १५ हजार ४०० नयाँ संक्रमित भेटिएका छन् ।
बढ्दो संख्याले व्यापक परीक्षण वा बद्दो संक्रमणदर वा अन्य कारणले हुनसक्ने विज्ञहरुले बताएका छन् । विश्वमा कूल संक्रमितको संख्या ९० लाख ५० हजारको नजिक पुगेको छ । कूल संक्रमितमध्ये आधाभन्दा बढी अर्थात करीब ४८ लाख ३८ हजार जना निको भइसकेका छन् । मृतकको संख्या चार लाख ७० हजार ६६५ पुगेको छ । हाल दैनिक मृत्यु दर चार हजार ७४३ छ ।
कोरोनाभाइरस संक्रमणदर भारतमा पनि फैलँदै गएको छ । आइतबार भारतमा ब्राजिल र अमेरिकापछि तेस्रो धेरै संक्रमित भेटिए । त्यहाँ अहिलेसम्ममा चार लाख २६ हजार ९१० संक्रमित फेला परेका छन् । तीमध्ये दुई लाख ३७ हजार २५२ जना निको भएका छन् । १३ हजार ७०३ जनाको मृत्यु भएको छ । भारतले बन्दाबन्दी खुकुलो बनाइसकेको छ । उता स्पेनले भने बन्दाबन्दी पूर्णरुपमै हटाएको छ । त्यहाँ पछिल्लो समय संक्रमणदर निकै घटेको छ ।