कोरोनाबाट विश्वमा रहेका १३० नेपालीको मृत्यु, १० हजार जना निको भए
कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणबाट विभिन्न देशमा रहेका १३० जना नेपालीको ज्यान गएको छ । अघिल्लो हप्ता कोरोना संक्रमणको कारण कोही पनि नेपालीको ज्यान नगए पनि यो हप्ता कतारमा थप तीन नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको हो । गएको ९ हप्तामा विभिन्न देशमा रहेका १ सय ३० नेपालीको कोरोनाको कारण ज्यान गएको एनआरएनएले जनाएको हो ।
अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन लगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा।सञ्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार यो हप्ता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना सङ्क्रमणबाट निको भएका छन् । जस अन्तर्गत डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यता नेपालमा स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार आइतबार १ सय ९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यसैगरि मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
एनआरएन अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एनआरएनद्वारा सार्वजनिक तथ्यांक अनुसार यस साता अफ्रिकी देशमा रहेका ४ जना नेपालीमासमेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।बेन्द्रबिन्दुबाट