कामदारकै खर्चमा विदेशबाट उद्दार गरिने
सरकारले जुन १४ अर्थात् असार जेठ ३२ गतेबाट विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गरी स्वदेश फर्काउने अभियान सुरु गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार निर्णय गर्दै नेपाल उड्डयन प्राधिकरण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारीका लागि निर्देशन समेत दिइसकेको छ। कोभिड १९ को कहरका कारण सम्पूर्ण विश्वकै व्यवसाय ठप्प भएको छ भने सिमानाका तथा उडान बन्द गरी लकडाउन भइरहेको अवस्थामा विदेशमा अलपत्र परेका नेपाली भित्र्याउन सरकारले काम सुरु गर्न लागेको हो।
११ दिनको कार्यतालिका बनाएर २५ देशमा उद्दारका लागि पर्खिरहेका नेपाली स्वदेश फर्काउने निर्णय भएको मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेले जानकारी दिए। नेपाल फर्किदा लाग्ने हवाई भाडा भने सम्बन्धित यात्रुले नै व्यहोर्ने पर्ने लामिछानेले बताए।






