सांसद सरिता गिरीको घरमा कालो झण्डा राख्दै युवाले गरे नाराबाजी
सांसद एवं जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीको घरमा बुधबार साँझ केही युवाले कालो झण्डा राखेका छन्। तर केहीबेरमै प्रहरी पुगेर झण्डा हटाएको छ। विशालनगरस्थित सांसद गिरीको घरमा झण्डा राखेपछि ती युवाले राष्ट्रवादी जनता जिन्दावाद सरिता गिरी मुर्दावाद भन्दै नाराबाजीसमेत गरेका थिए।
काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालो झण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेर हटाएको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। युवाहरुको पहिचान भने खुल्न सकेको छैन। सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्सा राख्न सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।
तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन्। यसपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न मागसमेत गरेको छ । गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।






