भारतमा भयावह बन्दै कोरोना : बुधबार एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु र संक्रमण
भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ। बुधबार एकैदिन भारतमा तीन सय ८८ जनाको मृत्यु भएको छ भने १२ हजार भन्दा धेरै संक्रमित भएका छन्। बुधबार भारतमा भएको मृत्यु र संक्रमण एकैदिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। वल्र्डओमिटरका अनुसार बुधबार भारतमा १२ हजार तीन सय ७५ जना नयाँ संक्रमित थपिएका छन्।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ हजार एकसय सात पुगेको छ। भारतमा अहिलेसम्म दुई लाख ८७ हजार एक सय ५५ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये झण्डै एक लाख ४१ हजार संक्रमित उपचारपछि निको भएका छन्।
मंगलबार भारतमा कोरोना संक्रमणबाट दुईसय ७७ जनाको मृत्यु भएको थियो भने १० हजार दुई सय १८ जनामा संक्रमण देखिएको थियो। भारतमा १ जुनबाट लकडाउन खुकुलो बनाइएको छ। लकडाउन खुकुलो भएसँगै त्यहाँ संक्रमण र मृत्युदर बढ्न थालेको जानकारहरुले बताएका छन्।






