दाना नपाउँदा अफगानिस्तानको मस्जिदमा पालिएका एक हजार बढी परेवा मरे
लकडाउनका कारण खाने कुरा नपाएपछि अफगानिस्तानको एक प्रसिद्ध मस्जिदमा पालिएका एक हजारभन्दा बढी सेता परेवाको मृत्यु भएको छ । लकडाउनका कारण मजार ए शरीफ मस्जिद लामो समयदेखि बन्द थियो । जसका कारण ती परेवाहरुले दाना पाएनन् र मृत्यु भयो । १२ औं शताव्दीको यो मस्जिद नीलो मस्जिदको रुपलेसमेत चिनिन्छ किनभने यसमा प्रयोग गरिएका पत्थर नीलो रंगका छन् ।
मस्जिदको हेरविचार गर्दै आएका कायुम अन्सारीले समाचार एजेन्सी एएफपीसँग भनेका छन्– परेवाहरुलाई दाना दिन कोही आएनन् त्यही भएर उनीहरु मर्दै गए । उनले भने, ‘हरेक दिन ३० भन्दा बढी सेता परेवा मर्दै गए । हामीले यही मस्जिदको बाहिर खाल्डो खनेर गाड्यौं ।’ उनका अनुसार हालसम्म एक हजारभन्दा बढी सेता परेवाहरु मरिसके । यो मस्जिद घुम्न आउनेहरुले पनि परेवाहरुलाई खानेकुरा ल्याएर दिन्थे । तर लकडाउनका कारण घुम्न आउनेहरु पनि कोही भएनन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द भएको अफगानिस्तानका धेरै धार्मिकस्थलहरुमध्ये यो मस्जिद पनि एक हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ४ सय ५९ छ भने मृतकको संख्या ३८४ छ । तर वास्तविक तथ्यांक योभन्दा बढी हुन सक्ने अनुमान गरिन्छ ।एजेन्सी






