मदनको मानमर्दन

जनपत्र
३ जेष्ठ २०७७, शनिबार ०९:२८

तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि उनको नामको राजनीति एमालेमा निकै फस्टायो, उनकै नाममा खुलेको फाउन्डेसनको बलमा ओलीले राजनीतिक शक्ति आर्जन गरे । नेकपा अध्यक्ष दाहालले भण्डारीकै सपना पछ्याउँदै पार्टी एकीकरण गरिएको भन्दै पूर्वएमालेको मन जित्न खोजे । तर भण्डारीको निधनको रहस्यको पर्दा २७ वर्षमा पनि उघ्रिन सकेन ।
काठमाडौँ — तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको असामयिक निधनले पर्वत मोदी गाउँपालिकाका इन्द्रप्रसाद उपाध्यायलाई गहिरो चोट लाग्यो । भण्डारीको अनुयायी समेत रहेका उपाध्यायकै अग्रसरतामा २०५० को असारमा पर्वतकै पातिचौरमा मदन–आश्रित प्रतीक्षालय बन्यो ।

भण्डारीकै सम्मानमा उपाध्यायले ०५९ मा जन्मिएका नातिको नाम मदन राखिदिए । ‘उहाँकै विचार र सिद्धान्तका आधारमा हामी यहाँसम्म आएका हौं, उहाँ भएको भए पार्टी र देश अर्कै बन्थ्यो,’ मोदी गाउँपालिका–५ का सदस्यसमेत रहेका उपाध्यायले भने, ‘मदन भण्डारीको विचारबाट कहिल्यै विचलित नभइयोस्, सम्झना आइरहोस् भनेरै नातिको नाम मदन राखें ।’ सडक विस्तारका क्रममा पातिचौरको उक्त प्रतीक्षालय त भत्काइयो तर उपाध्यायको मनमा मदन भण्डारी नै छन् ।उपाध्यायजस्ता थुप्रै कार्यकर्ता भण्डारीको विचारका अनुयायी छन् भने कतिपयको आत्मीयता उनको नामसँग मात्रै पनि छ । तत्कालीन एमालेले पार्टी मातहतमै रहने गरी सुरु गरेको मदन–आश्रित प्रतिष्ठानले भण्डारीसित सम्बन्धित प्रकाशनका काम गर्दै आएको छ । मदन भण्डारी फाउन्डेसनका अनुसार देशका सबै जिल्लामा भण्डारीको नामसँग जोडिएको कुनै न कुनै संस्थारसंरचना छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानले पूर्वमा काम गरिरहेको छ भने फाउन्डेसनको शाखा अधिकांश जिल्लामा छ ।

नेकपाभित्र भण्डारीसँगको सम्बन्धको व्याख्या पूर्वएमाले मात्रै होइन पूर्वमाओवादीका नेता कार्यकर्ताले पनि गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालले गत फागुन ६ गते सुर्खेतमा भएको नेकपाको कार्यकर्ता प्रशिक्षणमा दाहालले आफू र भण्डारीबीच पुरानो मित्रता रहेको भन्दै वामपन्थी एकताका लागि बारम्बार सरसल्लाह पनि भइरहेको बताए । ०४५ सालमा आफू तत्कालीन मसाल र भण्डारी तत्कालीन मालेको महासचिव हुँदा वामपन्थी एकताका लागि पहल भएको भन्दै उनले अहिलेको एकीकरण त्यसैका आधारमा भएको व्याख्या गरे । गत भदौ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष दाहालबीच शीतल निवासमा झन्डै साढे २ घण्टा भएको भेटको अधिकांश समय मदन भण्डारीकै विचार र उनीसँग
‘उहाँ एकदमै बाठो मान्छे, पूर्वएमालेको एउटा पंक्तिलाई आफ्नो पक्षमा ल्याउन भण्डारीको विचार र आफ्नो विचार समान छ भनिरहनुहुन्छ,’ भण्डारीलाई भेट्न शीतल निवास गइरहने एक नेताले त्यतिखेरै कान्तिपुरसँग भनेका थिए, ‘आज पनि भण्डारी र आफूबीच पुरानो दोस्ती रहेको बताउनुभएछ, जबजको आधारमै टेकेर पार्टी एकीकरणको कार्यभार पूरा गरिन्छ भन्नुभएछ ।’ त्यो बेला नेकपाभित्र पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्ने विषयमा चलिरहेको रस्साकस्सी ठ्याक्कै बन्द भएर दुई अध्यक्ष एकातिर र वरिष्ठ नेता माधवकुमार नेपाल अर्कातिर थिए । त्यही बेला नै दाहाल पार्टीको कार्यकारी अध्यक्ष बन्नेबारे केपी शर्मा ओली र दाहालबीच गोप्य सहमति भएको थियो ।

दुई वर्षअघि पार्टी एकीकरणको घोषणा अध्यक्षद्वयले तत्कालीन नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालयमा रहेको मदनको शालिकलाई साक्षी राखेर गरेका थिए । नेकपाका सबै बैठकमा भण्डारीको तस्बिरलाई संस्थापक नेता पुष्पलालको भन्दा महत्त्वका साथ हेर्ने गरिन्छ । भण्डारीकै व्यक्तित्व र विचारबारे लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता रमेश राई मदनको व्यक्तित्वलाई अहिलको नेकपा र तत्कालीन एमालेले अनावश्यक उपयोग गरिरहेको बताउँछन् । ‘भण्डारीको निधन हुनुअघि नेपाल कम्युनिस्ट आन्दोलनमा कोही नेतालाई त्यति धेरै उपाधि दिने गरेको देखिएको थिएन, उनलाई सबैभन्दा पहिले उनकै पार्टीले जननेता भन्ने उपाधि दियो,’ राईले भने, ‘भण्डारीले सुरुवात गरेको विचारलाई जनताको बहुदलीय जनवाद भनेर पछि मात्रै नामकरण गरिएको हो, कसैको विचार नेकपाका नेताहरुले भनेझैं तत्कालै मार्गनिर्देशक सिद्धान्त बन्छ कि बन्दैन सोचनीय नै छ ।’२०४९ मा भण्डारीले आफ्नो विचारलाई नेपाली क्रान्तिको कार्यक्रम मात्रै भनेका थिए । पछि व्याख्याताहरुले त्यसलाई नै जनताको बहुदलीय जनवाद भन्दै मार्गदर्शक सिद्धान्त बनाए । नेकपा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले पनि बारम्बार आफूलाई जबजको व्याख्याका रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । यो समाचार हामिले कान्तिपुरबाट साभार गरेका हौं । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*