लिपुलेकमा नेपालको कडा आपत्ति

जनपत्र
२८ बैशाख २०७७, आईतवार ०६:३५

छिमेकी भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमि हुँदै मानसरोवर जाने सडक निर्माण गरेको विषयलाई सरकारले कडा शब्दमा आपत्ति जनाएको छ। नेपाली भूमिमा पर्ने लिपुलेक हुँदै जाने ‘लिंक रोड’ भारतले ‘उद्घाटन’ गरेको थाहा पाउँदा नेपाल सरकारलाई दुःख लागेको भन्दै परराष्ट्र मन्त्रालयले त्यस्तो वक्तव्य जारी गरेको हो। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर यात्राका लागि भारतको उत्तराखण्डस्थित धार्चुलाको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोड भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए।

भारत र चीनको मिलीभगतमा नेपाललाई कुनै परवाह नराखी नेपाली भूभागमा गरेको अतिक्रमणप्रति सर्वत्र विरोध भइरहेको छ। उक्त विषयमा शुक्रबार जानकारी पाएको सरकारले शनिबार अपराह्न विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा काली ९महाकाली० नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको दोहोर्‍याएको छ।

चीन र भारतले सन् २०१५ मा लिपुलेकमार्फत द्विदेशीय व्यापार गर्ने सहमति गरेपछि त्यसमा आफ्नो सहमति नभएको भन्दै दुवै मुलुकलाई कूटनीतिक नोट पठाएको जानकारीसमेत विज्ञप्तिमा उल्लेख गरेको छ। नोटपछि दुवै मुलुकले गरेको प्रतिबद्धताविरुद्ध यो कार्य अघि बढेकोमा नेपालले गहिरो दुःख व्यक्त गरेको हो।

भारतले गत कात्तिक ९नोभेम्बर०मा जारी गरेको नयाँ राजनीतिक नक्सामा मतभेद प्रकट गर्दै लिपुलेक नेपालको भएको भन्नेबारे पनि भारतलाई कूटनीतिक नोट पठाएको परराष्ट्रले उल्लेख गरेको छ। दुई मुलुकका प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका आधारमा कुराकानी गरेर सल्टाइने समझदारीविरुद्ध भारतको उक्त कदम रहेको मन्त्रालयले जनाएको छ। अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*