संस्कृति बन्दै बलात्कार

यो हाम्रो मानसमा यति स्थापित भइसकेको छ, आफैंले यसको अभ्यास गरिरहेको पनि हेक्का हुँदैन ।
श‌ृङ्खला खतिवडा
२७ बैशाख २०७७, शनिबार ०७:११

हालै इन्स्टाग्राम र ट्विटरतिर एउटा महत्त्वपूर्ण विषयबारे चर्चा चल्यो । नेपालमा त्यति प्रचलनमा नआइसकेको ‘रेडिट’ नामक एपमा केही अकाउन्टले नेपाली युवतीहरूका निजी तस्बिर, स्वीकृतिबिना नै, अति अपमानजनक प्रतिक्रियासाथ सेयर गरेका रहेछन् । पब्लिक रहेको त्यस ग्रुपमा नाबालिगदेखि नेपालका केही नाम चलेका युवतीसमेतका तस्बिर थिए । थ्रेडका टिप्पणी पढ्दै जाँदा मेरो आङ सिरिंग भयो ।

नाबालिगदेखि वयस्क युवासम्मका प्रतिक्रियाहरू, लिक गरिएका सेक्स टेप र नग्नरअर्धनग्न तस्बिरहरू, बिकिनी र फोटोसप गरिएका फोटादेखि सामान्य सोसल मिडिया तस्बिर सबैमा एउटै समानता थियो— यौनेच्छाबारे तुच्छ भाषामा टिप्पणी । ‘ती युवती कति सेक्सी छन्’ वा ‘एक रातको कति लिन्छिन्’ जस्ता । धेरै कुरा यहाँ लेख्न नमिल्ने खालका थिए । माफ पाउँ। आफ्ना इन्स्टाग्राम प्रोफाइलका तस्बिरहरू त्यहाँ गलत ढंगमा चित्रित भएको पाएपछि एउटा ठूलै जमात त्रसित भयो ।

नयाँ पुस्ताका महिला, जो समानताका अधिवक्ता र उदाहरण दुवै हौं, जो खुला रूपमा हिँड्छौं, महिला–पुरुष समान साथी बनाउँछौं, समान शिक्षा र अवसर पाएका छौं, अग्रणी स्थानमा रहेर व्यवसाय हाँक्छौं, कहिलेकाहीँ राति रेस्टुराँ र क्लब जान डराउँदैनौं र हिचकिचाउँदैनौं, खुला समाजको प्रतिनिधित्व गर्छौं अनि आफ्ना समकालीन पुरुषहरूबाट पनि त्यही मानसिकताको आशा राख्छौं, हामीलाई रेडिट अकाउन्टले वास्तविकताको खाल्डोमा धकेलिदिएको आभास भयो । बलात्कारलाई हामी सधैं एउटै दृष्टिकोणले हेथ्र्यौं, एउटा ‘सिंगुलर स्टयान्ड–अलोन’ घटनाका रूपमा । तर हामीले बिस्तारै बलात्कारलाई एक घटनामा मात्र सीमित नगरी विकृत मानसिकताको उपजका रूपमा खडा गर्दै छौं, संस्कृतिसँग जोड्दै छौं । यस घटनाले मलाई केही महिनाअगाडिको आफ्नो तिक्त अनुभवको सम्झना गरायो । एउटा साहित्यिक सम्मेलनमा हामी महिला सुरक्षासम्बन्धी छलफलमा थियौं ।

मैले महिलाहरू कोही कतै पनि सुरक्षित नरहेको बताउने सन्दर्भमा, आफैं पनि नाबालिग हुँदा यौन हिंसाको सिकार भएको चर्चा गरेकी थिएँ । बहसको मर्म प्रस्ट थियो— महिला अझै असुरक्षित छन् । भोलिपल्ट नेपालको एउटा ख्यातिप्राप्त पत्रिकामा समाचार आयो, यस्तो शीर्षकसहित— ‘म यौन हिंसाको सिकार भएँ स् शृङ्खला’ । यसमा मैले बनाएको छाउपडीसम्बन्धी अछामको वृत्तचित्रबाट निकालेर म कमजोर र पीडित देखिने तस्बिर राखिएको थियो । त्यो समाचार केही अनलाइन मिडियाले पनि हुबहु सेयर गरेछन् । फेसबुकमा त्यसबारे आएका प्रतिक्रिया पढ्दा नेपालमा महिलासम्बन्धी मानसिकता अझै कति अपमानजनक रहेछ भन्ने छर्लंग भयो ।

केही टिप्पणीमा लेखिएको थियो— ‘जे भयो राम्रै भयो’, ‘केटी बिगार्ने दुई कुरा स् थुतुनो र मुतुनो’, ‘सुनको पक्कै छैन होला, छालाकै होला, नेपालजस्तो देशमा जे भयो ठीकै भयो’, ‘यस्तै हुन्छ, नखरा देखाउँदै हिँडे’सि’, ‘अलि धेरै पैसा भएको व्यापारी फसाउने दाउ होला नि मिस नेपालज्यू’, ‘बाहिर मात्र कि भित्रै छिर्‍यो, प्रस्टै भनिदिए हुन्थ्यो’, ‘त्यति बेला मज्जा आयो होला, अनि भनिनौ, अहिले बाल्यकालको यादको कुरा गछर्यौ’, ‘राम्री छयौ, किन नहुनु र रु’, ‘हजुर बाल्यकालमा यौन हिंसाको सिकार हुनुभएको थियो भने त्यति बेलै बोल्नुपथ्र्यो’, ‘यो त कस्ती नकचरी आइमाई रहिछे’, ‘कुन ठूलो कुरा भयो र रु’ ।।। । सबै माध्यम गरेर ५०० हाराहारी प्रतिक्रिया थिए होलान्, जसमा ९५ प्रतिशतको धारणा यस्तै थियो । म भित्रैबाट गलें । आफ्नो बाल्यकालको तीतो क्षणमाथि गरिएका तुच्छ टिप्पणीले मन भारी भयो । मलाई थाहा थियो— यो ममाथि मात्र होइन, सम्पूर्ण महिलामाथिको दृष्टिकोण हो र समाजबाट तिरस्कृत हुने डरले धेरैको आवाज दबिएको छ ।

म त्यत्तिमै रोकिइनँ । त्यस्ता प्रतिक्रिया गर्ने हरेकको प्रोफाइल खोलेर हेर्न थालें । मेरा बुबाको उमेरका व्यक्ति, भर्खर बिहे गरेका जवान, एक वर्षकी छोरीका बाबु जसको प्रोफाइल तिनकै नानीका तस्बिरले रंगिएको थियो, मेरी आमाजस्ता महिला । म झन् स्तब्ध भएँ ।

ती कुनै कम्प्युटरपछाडि लुक्ने फेक आईडी थिएनन् । हरेक दिन घर, चोक, कार्यस्थलमा देख्ने– भेट्ने परिवारका व्यक्ति थिए । त्यो हाम्रो समाज थियो । एउटा प्रतिक्रिया अझै मनमा टाँसिएको छ । दुई सन्तानकी आमाले, जसको प्रोफाइलमा महिलालाई आत्मरक्षाको तालिम दिइरहेको तस्बिर थियो, लेखेकी थिइन्, ‘मोडेल १०० प्रतिशत पैसा र फेसनका लागि यस्तो काममा लाग्छन् भने कुन नौलो कुरा भयो र रु निर्मला सम्झिनुस् न ।’ उनले निर्मला पन्तको कुरा गरेकी थिइन् । १३ वर्षीया ती बालिकाको जसको झन्डै दुई वर्षअगाडि बलात्कारपछि हत्या भएको थियो । यस घटनाले त्यति बेला महिला सुरक्षालाई लिएर देशै तरंगित बनाएको थियो । सार्वजनिक आक्रोश व्यापक थियो ।

हामीले बलात्कारमुक्त समाजको कल्पना गर्दैगर्दा महिला उत्पीडन र हिंसालाई सामान्यीकरण गर्दै छौं र परिवर्तनका सपना बुन्दै छौं । हामी बलात्कारीलाई फाँसी दिए यसको समाधान हुन्छ भन्ने सोच्छौं, तर महिलासम्बन्धी हिंसालाई समाजको सामान्य पाटोजसरी स्विकार्छौं । बलात्कार संस्कृति हाम्रो मानसमा यति स्थापित भइसकेको छ कि, आफैंले यसको अभ्यास गरिरहेको पनि हेक्का हुँदैन । हामी महिलालक्षित अपमानजनक गीत सहजै सुन्छौं, आत्मविश्वासी महिलालाई घमन्डी ठान्छौं, आफ्नो विश्वासमा तर्क राख्न सक्ने महिलालाई अहंकारी भन्छौं, आफ्ना साथीसंगीसँग घुम्न जान पतिरप्रेमीसँग सल्लाह गर्दैनौं, अनुमति लिन्छौं ।

अपमानजनक प्रतिक्रियादेखि छेडछाडसम्म, यौन उत्पीडनदेखि बलात्कारसम्म सबै एउटै मानसिकताका उपज हुन्, जसले महिलालाई केवल वस्तु ठान्छ । बलात्कार संस्कृतिमा हामी चार तह रहेको पाउँछौं— सामान्यीकरण, पतन, स्वतन्त्रता हनन र स्पष्ट हिंसा । मैले धेरै महिला साथी, दिदीबहिनीसँग यस विषयमा कुरा गर्दा सबैले आफूलाई कुनै न कुनै रूपमा यो पिरामिडमा देख्नुभयो । चौबीस वर्षको उमेरमा मैले यस्तो कटु अनुभव गरिसकेकी छु र म यसमा एक्लै छैन । यो हामी सबैको वास्तविकता हो ।

अब हामीले प्रतिवाद गर्नुपर्छ । गल्ती उत्पीडनमा पर्ने कुनै पनि महिलाको हुँदैन, गल्ती त्यो मानसिकताको हुन्छ जसले उनको पहिरन, लवाइ–खवाइ, आचरण र कमजोरीमा दोष देख्छ । बलात्कार त्यही मानसिकताको उपज हो, जसले महिलालाई पुरुषसमान देखेन, जसले छेडछाडलाई सामान्य रूपमा लियो, जसले वैवाहिक बलात्कारमा विश्वास गरेन र जसले महिलाले आक्रमण आफैं निम्त्याएको ठान्यो । हामीमध्ये कसैले पनि आफूलाई पीडित अथवा पीडकका रूपमा बलात्कार संस्कृतिको पिरामिडमा पायौं भने आफैं मूल्यांकन गरौं र परिवर्तन आफैंबाट सुरु गरौं । बलात्कारीलाई कडा सजायले यो संस्कृतिको हाँगा त काटिएला, तर जरा हाम्रो मानसमा झाँगिएको छ, जुन महिलाप्रति माया र आदरले मात्र हट्न सक्छ ।

(पूर्वमिस नेपाल खतिवडा सामाजिक अभियन्ता हुन् ।)
(इकान्तिपुरका लागि श‌ृङ्खला खतिवडाले लेख्नु भएको लेख हामिले साभार गरेका हौं ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*