सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसक्यो : कांग्रेस

राजेन्द्र महतोको प्रश्न : दुई कौडीको सरकारसँग के माग्ने ?
जनपत्र
२६ बैशाख २०७७, शुक्रबार १८:५३

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएको छ ।

कोरोना सङ्क्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा संलग्न हुनु तथा  सांसद जस्तो आवाञ्छित र अपराधिक गतिविधिमा संलग्न हुनुले सरकारको नैतिक र राजनैतिक आधार गुमेको निष्कर्ष कांग्रेसको छ ।

त्यसैगरी कांग्रेसले सकरारको  अधिनायकवादी नियत विरुद्ध निरन्त लड्ने चेतावनी पनि दिएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘विषम परिस्थितिमा भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त हुनु , सांसद को अपहरण हुनु, आवाञ्छित र अपराधिक गतिविधि कुनैपनि रुपले स्वीकार्य हुन सक्तैनन्  । यी विषयमा नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिनुको साथै अत्यन्त सुक्ष्म ढंगले विशेष गरी यो सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको छ ।’

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको बताएका छन् । यस्तो ‘दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको बताए ।

शुक्रबार संसदलाई सम्वोधन गर्दै महतोले भने, ‘जनता महामारीबाट पीडित छ, यहाँ त अर्कै धन्दा पो भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोर्ने, सांसद चोर्ने ? सांसद अपरहण गर्ने ? गराउने ? के हो भयो ?’

सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेर सरकारले मानवताविरुद्धको अपराध गरेको भन्दै महतोले यस्तो सरकारले केही दिन नसक्ने बताए । उनले भने, ‘दिन पनि के सक्छ ? गुण्डा लगाएर अपहरण गर्छ । विपक्षीलाई ठेगान लगाउने रे ! यो सरकार कुर्सीको लडाइँ गर्नचाहिँ बडा सिपालु छ । त्यो काम त रातारात गर्दोरहेछ ।’

सांसद महतोले कोरोनालाई मजाकका रुपमा नलिन आग्रह गर्दै परीक्षणको दायरा बढाउन सरकारसँग माग गरे । सरकार जस्तोसुकै निकम्मा भए पनि मोदी वा सि चिनफिङसँग नभई आफ्नै प्रधानमन्त्री केपी ओलीसँगै माग गर्नुको विकल्प नरहेको महतोले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*