बैठक माग गर्दै धुम्बाराहीमा नेकपाका २० स्थायी कमिटी सदस्यको भेला

जनपत्र
२५ बैशाख २०७७, बिहीबार १६:०२

काठमाडौँ — पूर्वनिर्धारित स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेकपाभित्र असन्तुष्टि फेरि पोखिन थालेका छन् । बिहीबार नेकपाका २० स्थायी कमिटी सदस्य पार्टी मुख्यालय धुम्बाराहीमा भेला गरेका छन् । बैशाख १० मा पत्र लेखेर दुवै अध्यक्षलाई बैठक बोलाउन माग गरेका २० नेता बिहीबार पार्टी मुख्यालयमा भेला भएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।

‘सचिवालयले स्थायी कमिटी बैठकका एजेण्डारप्रस्ताव तय गर्न नसकेर आज बस्ने भनिएको बैठक स्थगित गर्‍यो । त्यसकारण बैठकका एजेण्डा तय गर्न सचिवालयलाई सहयोग गर्ने र तत्काल बैठक बोलाउन दवाव दिनेगरी धुम्बाराही पार्टी कार्यालयमा छलफल गरेका हौं,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘हामी २० जनाले पत्र लेखेर नै बैठक बोलाउन माग गरेका थियौं । हामीले अडान छाडेका छैनौं, बैठक बोलाउनु पर्छ ।’ उनीहरुले मंगलबार दिउँसो पनि ललितपुरको एक रेष्टुरेष्टमा भेला गरेका थिए । पार्टीको विधान, पद्धति र प्रक्रिया तथा निर्णय एवं प्रतिबद्धता विपरीतका क्रियाकलाप भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने उनीहरुको निश्कर्ष छ ।

मंगलबार नै उनीहरुले स्थायी कमिटीमा छलफलका लागि भन्दै केही बुँदासमेत तयार पारेका थिए । बैठकमा सहभागी नेताहरुले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरु नै विभिन्न भ्रष्टाचारमा संलग्न भएको, प्रधानमन्त्रीले यस्ता विषयमा कठोरतापूर्वक छानबिन नगरेको, पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको, सांसद अपहरण जस्तो मुद्दालाई नजरअन्दाज गरेको, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । दुई विवादास्पद अध्यादेश ल्याउनुको कारण के थियो भनेर उनीहरुले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने तयारीसमेत गरेका थिए । इकाीनतपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*