नेकपा सचिवालय बैठक तय, विवाद जस्ताको त्यस्तै
पार्टीभित्र विवाद चर्किरहेको वेला नेकपाले सचिवालय बैठक तय गरेको छ । बुधबार साँझ ५ बजेका लागि बैठक तय भएको सचिवालयका एक सदस्यले बताए ।
मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि सचिवालय बैठक तय भएको हो ।
नेकपामा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लगातार बैठकको माग गर्दै आएका थिए ।
सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउन सक्ने सम्भावना रहेको ती सदस्यले बताए ।
२० सदस्यले स्थायी कमिटी बैठकको पनि लिखित माग गरेका छन् ।
सोमवार ओली र नेपाल समूहका नेताहरुबीच भएको सामूहिक छलफलमा मंगलवार सचिवालय बैठक बोलाउने अनौपचारिक सहमति भएको थियो ।
तर, मंगलवार दुवै अध्यक्षको भेटपछि मात्र बुधवारका लागि बैठक तय भएको हो ।
सचिवालय बैठक तय भए पनि नेकपामा अध्यादेश प्रकरणपछि उत्पन्न विवाद भने कायमै छ ।
दुई विवादास्पद अध्यादेशसँगै नेकपाको विवादले नयाँ मोड लिएको थियो ।
अध्यादेश फिर्ता आएपनि नेताहरुले किन र कसका लागि आएको थियो भन्ने विषय पार्टी बैठकमा छलफल हुनुपर्ने बताईरहेका छन् ।
बालुवाटारमा सोमवार आफु निकट सांसदहरूसँग प्रधानमन्त्रीले घेराबन्दी गरेर अस्थिरता मच्चाउन खोजिँदै छ, आआफ्नो ठाउँबाट प्रतिवाद गर्नुस् भनेका थिए ।
बरु, यसबीचमा नेपाल समूहले निकासका लागि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग अगाडि सारेको छ ।
तर, ओलीनिकट नेताहरूले भने तत्काल यो सम्भव नभएको बताइरहेका छन् ।
सोमवारमात्रै ओलीनिकट नेता कर्णबहादुर थापाले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा गर्नुपर्छ भन्ने प्रस्तावलाई पार्टी विभाजन गराउने प्रस्ताव भनेका थिए ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो । सकिँदा केपी मात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मूर्खताभन्दा अरू के नै हुन सक्छ ? विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।’
पार्टी विवाद उत्सर्गमै पुगेका बेला उता नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता जोगाउन नेतृत्वलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
नेकपाभित्र शक्तिसंघर्ष चलिरहेका वेला विभिन्न आन्तरिक संवादमा सक्रिय मुख्यमन्त्री पोखरेलको यस्तो आग्रह आएको हो ।
मंगलबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताको मूलमर्म सहमति र सहकार्य हो । लाखौँ कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुने नै छ।’
नेकपा विवाद जटिल बन्दै गएपछि मुख्यमन्त्री पोखरेल शुक्रबार बुटवलबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटघाट सुरु गरेका थिए ।






