राजपा र समाजवादी पार्टीबीच एकता, नयाँ पार्टीको नाम जनता समाजवादी
लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी ‘राजपा’ र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ। सहमति पत्रमा राजपा अध्यक्ष मण्डलका दुई नेता राजकिशोर यादव र अनिल झाले चाहिँ हस्ताक्षर गरेका छैनन्।
त्यसको कारणबारे बीबीसी नेपालीले जिज्ञासा राख्दा राजपा महासचिव तथा प्रवक्ता केशव झाले भने, ‘अरू कारणले होइन। उहाँहरू काठमाण्डूमा उपलब्ध नभएर हस्ताक्षरण गर्न नसक्नुभएको हो।’ नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने दुई दलबीचको सहमति पत्रमा उल्लेख छ।
चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ भने पार्टीको झन्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङ्गको बीचमा तारा हुनेछ। राजनीतिक दल विभाजनलाई सहज बनाउन सरकारले यसै हप्ता अध्यादेश जारी गरेको थियो।
समाजवादी पार्टी फुट्ने सम्भावनाबारे भइरहेका चर्चाबीच लामो समयदेखि एकताको तयारीमा रहेका भनिएका राजपा र समाजवादी पार्टीले एकता गर्ने निर्णय गरेको कतिपयको भनाइ छ।






