कोरियामा आज निर्वाचन, कोरोना सङ्क्रमितलाई पनि मतदानको व्यवस्था
कोरोना सङ्क्रमण महामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।
वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डेमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ । हाल सदनमा यो दलको १२० सिट छ । बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ । सदनमा युटाइटेड फ्युचरको पार्टीको ११२ सिट भए पनि २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् । उनीहरु पनि आफ्नो बहुमत आउने दाबी गरिरहेका छन् ।
मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ । आफूले सत्ता सम्हाल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पु¥याउने उनको महत्वाकाङ्क्षी योजना अझै पूरा हुन सकेको छैन तर पनि अन्य योजनाहरु चुस्तगतिमा अगाडि बढाउनाका साथै कोरोना महामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापीरूपमा प्रशंसा भइरहेको छ । मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहे अनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर हुनेछ ।






