‘सेल्फ’ प्रशिक्षणमा रम्दै हेटौंडाका राष्ट्रिय फुटबलर
मकवानपुर — फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् ।
अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका चर्चित फुटबलरमा पनि परिरहेको छ ।
मकवानपुरबाट राष्ट्रिय टोलीमा रहेका खेलाडी अन्जन विष्ट, रन्जन विष्ट, सुनील बल र एलन न्यौपाने हुन् । रन्जन र अन्जन दाजुभाइ हुन् । कोरोनाका कारण अहिले विष्ट दाजुभाइ र सुनील हाल गृहनगर हेटौंडामै छन् भने एलन एक महिनाअगाडि मात्र अस्ट्रेलियातर्फ लागेका थिए । विभिन्न उमेर समूहमा नेपालको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रेका विंगर तथा च्यासलका कप्तान अमिर श्रेष्ठ र मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक अशोक बराल पनि हेटौंडामै छन् ।
मनाङको अग्रपंक्ति सम्हालिरहेका विष्ट दाजुभाइ आफूलाई फिट राख्नका लागि हेटौंडा–१० स्थित घर नजिकै रहेको वनविज्ञान अध्ययन संस्थान ९फरेस्ट्री० मैदानमा बेलुकी समयमा प्रशिक्षण गरिरहेका छन् । ‘क्लबमा हुँदा समूहमा रहेर प्रशिक्षकको निर्देशन अनुसार प्रशिक्षण गरिन्थ्यो । अहिले एक्लै आफूलाई फिट राख्नका लागि प्रशिक्षण गरिरहेको छु,’ अन्जनले बेलुकी समय प्रशिक्षणमा बिताए पनि बिहान र दिउँसो घरमै बसिरहेको बताए । गायनमा सौखिन उनी गिटार बजाएर दिन काटिरहेको बताउँछन् ।रन्जन भने बिहान र दिउँसो घरमै बसिरहेको र बेलुकाको समयमा ‘सेल्फ’ प्रशिक्षण गरिरहेको बताउँछन् ।
ए डिभिजन लिग र मोफसलमा भएका विभिन्न नकआउट फुटबल प्रतियोगितापछि घरमा आएर परिवारसँग बस्दा आफूलाई फिट महसुस गरेको उनले सुनाए । भने, ‘लिगलगत्तै विभिन्न जिल्लामा भएको नकआउट फुटबलको व्यस्तताबाट राहत मिलेको छ ।’ उनले फुटबलप्रेमी एवं सबैलाई कोरोनाबाट बच्नका लागि सुरक्षित घरमै बस्नआफ्नो फेसबुक पेजमार्फत् आग्रह गरिरहेको बताए ।नेपालले आफ्नै भूमिमा १३ औं सागमा फुटबलको स्वर्ण पदक जित्दा महत्त्वपूर्ण भूमिका खेलेका सुनील अहिले हेटौंडा–१४ स्थित आफ्नै घरमा छन् । ‘घर नजिकैको चौरमा बिहान र बेलुका पसिना बगाइरहेको छु । यो समयमा कहाँ जानु । घरमै बसेर दिन बितिरहेको छ,’ उनले लिगमा च्यासलबाट खेल्दा सोचेजस्तो नतिजा नआए पनि अझै आफ्नो खेललाई कसरी तिखार्न सकिन्छ भनेर भरपूर सोच्ने मौका लकडाउनले दिएको बताए । ‘अन्य क्लबमा जानेबारे अहिल्यै सोचेको छैन,’ थ्रीस्टार छाडेर लिगअघि च्यासलमा आबद्ध उनले भने ।
‘ए’ डिभिजन लिगमा विपक्षी खेलाडीविरुद्ध अभद्र व्यवहार गरेपछि कारबाही भोगेका अशोक बराल पनि अहिले फरेस्ट्रीमै अभ्यास गरिरहेकै भेटिन्छन् । मनाङले धरानमा भएको बुढासुब्बा गोल्डकप र पोखराको आहा–रारा गोल्डकप जित्दा उत्कृष्ट गोलरक्षक घोषित अशोक आफूलाई फिट राख्न बिहान र बेलुका नै प्रशिक्षण गरिरहेको बताउँछन् । यस्तै अमिर श्रेष्ठ पनि हेटौंडा–९ स्थित पशुपतिनगरमा रहेको औद्योगिक क्षेत्रको मैदानमा नियमित प्रशिक्षण गरिरहेका छन् ।
‘घर नजिकैको जुनियर भाइ र म दैनिक प्रशिक्षण गरिरहेका छौं,’ अमिरले लकडाउनको दिनदेखि नै घरबाट मैदानबाहेक अन्यत्र नगएको सुनाए ।संकटा क्लबसँग आबद्ध मकवानपुरे गोलरक्षक रोहित कार्की र बिग्रेड ब्वाइजका डिफेन्डर एन्जल महर्जनलगायतका खेलाडी पनि अहिले घरमै छन् । जिल्ला फुटबल संघ मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठ आफूसँग नियमित रूपमा प्रशिक्षण गर्ने करिब ४० भन्दा बढी खेलाडीलाई लकडाउनको घोषणा भएसँगै घरमै बसेर सामान्य अभ्यास गर्न आग्रह गरिएको बताउँछन् । इकान्तिपुरमा सुवास विडारीले लेख्नुभएको समाचार हामिले साभार गरेका हौं ।






