पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने ३ जना पक्राउ

जनपत्र
७ चैत्र २०७६, शुक्रबार ०६:४१

पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।प्रहरीले राजधानीको विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेको बताएपनि उनीहरुको पहिचान खुलाएको छैन ।महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले भोलि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो ।

विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ । पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको थियो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो।  मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*