दर्शकसँग माफी माग्दै सर्यो ‘नीरफूल’
चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका सयभन्दा बढी देश प्रभावित भएका छन् । नेपाल समेत यो रोगको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी गराइसकेको छ । जसले गर्दा हरेक नेपालीको मनमा त्रास उत्पन्न भएको छ । सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि मानिसको भीडभाड हुने कार्यक्रममा रोक लगाइसकेको छ ।
सिनेमा हल पनि दर्शकको भीडभाड हुने ठाउँ हो । तर, नेपाल सरकारले अहिलेसम्म हल बन्द गर्न निर्देशन नदिए पनि कोरोनाको त्रासले हलहरु विस्तारै सुनसान देखिन थालेका छन् । हलमा दर्शक आउन छाडेपछि अहिले प्रदर्शनको तयारीमा रहेका फिल्म भटाभट सरिरहेका छन् । केही दिनअघि फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ सर्यो ।
कोरोना भाइरसका कारण अर्को नेपाली फिल्म ‘नीरफूल’ को पनि प्रदर्शन स्थगित भएको छ । प्रदर्शन मिति सर्दासर्दा आउँदो चैत ७ गतेबाट प्रदर्शनमा आउने तरखरमा रहेको यो फिल्म अब स्थिति सामान्य भएपछि मात्र प्रदर्शनमा आउने निर्देशक फूलमान वलले जानकारी दिए । दर्शकको स्वास्थ्यलाई ख्याल गरि फिल्मको प्रदर्शन मिति सार्ने निर्णय निर्माण टिमले गरेको हो ।







