भारत छिर्‍यो ‘हजार जुनीसम्म’

जनपत्र
२८ फाल्गुन २०७६, बुधबार ०६:०२

नेपालमा कमजोर व्यापार गरेको विकासराज आचार्य निर्देशित लभस्टोरी फिल्म ‘हजार जुनीसम्म’ अब भारतमा प्रदर्शन हुने भएको छ । यही शुक्रवारबाट फिल्मले भारत प्रदर्शन थालनी गर्न लागेको हो । सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्म दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो ।

पत्रकार सम्मेलनमा अभिनेता द्वय आर्यन सिग्देल र अखिलेष प्रधान, निर्माता अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए । मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरि फिल्म हेर्न आग्रह गरिन् । फिल्मले भारतमा राम्रो व्यापार गर्ने उनको विश्वास छ ।

अभिनेता आर्यनले दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडी क्षेत्रमा बसोबास गर्ने नेपालीबासीलाई फिल्म मनपर्नेमा आफू आशावादी रहेको बताए । उनले फिल्ममा अनन्त प्रेम, अनुकम्पा र रोमान्स रहेको जानकारी दिए । त्यस्तै, अभिनेता अखिलेष प्रधानले फिल्ममा आफूले निभाएको भूमिकालाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । यो उनी अभिनीत पहिलो फिल्म हो ।

फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् । यो फिल्म गएको साउन अन्तिममा प्रदर्शनमा आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*