सेक्युरिटी प्रेसकाण्ड –बागमती प्रदेशसभामा प्रधानमन्त्रीको राजीनामा मागियो

जनपत्र
११ फाल्गुन २०७६, आईतवार १९:२९

हेटौँडा / बागमती प्रदेशसभाको विशेष समयमा सेक्युरिटी प्रेसकाण्डको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएको छ। प्रतिपक्ष दलका सांसदले सरकारको आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्। आइतबारको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दीपेन्द्र श्रेष्ठले संस्थागत भ्रष्टाचारमा सरकार लागेको भन्दै सरकारकै अग्रसरतामा भ्रष्टाचार भएको कुरा जगजायर भएको बताए। उनले प्रधानमन्त्रीकै संलग्‍नतामा भ्रष्टाचार भएको देखिएकोले राजीनामा दिनुपर्ने बताएका हुन्।

श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार पूर्वाग्राही ढंगले अगाडि बढेको समेत बताए। सरकारले अख्तियारलाई संवैधानिक आयोगभन्दा पनि आफ्नो छायामा पारेको आरोप लगाएका हुन्। यस्तै, कांग्रेसकै सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीबाट नै सेक्युरिटी प्रेसकाण्डको छानबिन सुरु गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको सल्लाहविना यती ठूलो काण्ड हुन नसक्ने बताए। विवेकशीलका सांसद रमेश पौड्यालले नैतिकताको आधारमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा दिनु मजाक भएको भन्दै अनैतिकताको राजीनामा कस्तो हुने भन्दै प्रश्‍न गरे।

नैतिकता प्रश्‍नको सियो प्रधानमन्त्रीतर्फ तेर्सिएको बताए। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेले भने सरकार काण्डै काण्डमा अल्झिएको बताइन्। प्रमुख सचेतक घलेले निर्वतमान मन्त्री बाँस्कोटाको निश्पक्ष रूपमा छानबिन हुन्छ की हुँदैन भन्दै प्रश्‍न पनि गरिन्। प्रदेश सरकार गफ मात्रै गरिरहेको आरोप लगाउँदै उनले बजेट खर्च किन गर्न नसकेको प्रश्‍न गरिन्। यस्तै, राप्रपा संयुक्तकी प्रदेशसभा सदस्य रीना गुरुङले गोकुल बाँस्कोटा प्रकरण जस्तै काण्ड बागमती प्रदेशमा देख्न नपरोस भन्दै बागमती प्रदेश सरकार पनि पारदर्शी हुनु पर्ने बताइन्। उनले मन्त्रिपरिषद् विस्तार भएता पनि महिला मन्त्री हुन नसकेको प्रति खेद् प्रकट गरिन्।

सत्ता पक्षको बचाउ

आइतबारकै विशेष समयमा बोल्दै बागमती प्रदेशसभाका सत्तापक्षका सांसदले निवर्तमान मन्त्री बाँस्कोटाको घुमाउरो शैलीमा बचाउ गरेका छन्। नेकपा सांसद दीपक निरौलाले नेकपा सधैँ भ्रष्टाचार विरोधी भएको भन्दै तथ्यको आधारमा बोल्ने बताए। उनले तथ्य प्रमाण छ की छैन त्यो अनुसन्धानको विषय हो भन्दै उस्तै आवाज निकाल्ने प्रशस्तै कलाकार रहेको समेत तर्क गरे।

यस्तै, नेकपाका सांसद केशवराज पाण्डेले गल्ती गरे जो सुकैलाई सरकारले कारबाही गर्नु पर्ने बताए। तर, उनले सार्वजनिक लेखा समिति पनि छानबिनको दायरामा आउनु पर्ने बताउँदै निर्वतमान मन्त्री बाँस्कोटाले नैतिकता देखाएर निष्पक्ष छानबिनको लागि राजीनामा दिएको भन्दै इतिहास रचेकोले धन्यवाद दिनुपर्ने बताए। सत्ता पक्षका सांसद गणेश दुलालले मिच्चिएको सार्वजनिक जग्गामा सरकारले झण्डा गाडेको भन्दै सरकारको प्रशंसा गरेका छन्। आइतबार प्रदेश लोकसेवा ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रदेश मामिला समितिका सुभापति माधवप्रसाद पौडेलले पेस गरेसँगै भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ।

महादेवलाई सुनको जलरी ?

सरकारले पशुपतिनाथ मन्दिरमा सय किलोको सुनको जलरी लगाउने निर्णयको कांग्रेस सा‌ंसदले बिरोध गरेकाछन् ।

बागमती प्रदेश सभामा आइतबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यले खरानी घसेर भक्तहरुको कल्याण र संरक्षण गर्ने महादेवलाई सरकारले सुनको जलरी लगाएर सामन्ती बनाउन खोजेको आरोप लगाए ।

उनले ‘सो सिम्पल महादेवलाई सुनको जलरी कहीँ सुहाउँछ’ भन्दै व्यङ्ग्य गरे । प्राचीन स्मारक संरक्षण ऐन अनुसार नै पशुपतिनाथलाई संरक्षण गर्न सांसद बैद्यले सरकारलाई आग्रह समेत गरे ।

राप्रपाकी सांसद रिना गुरुङले प्रदेश सरकार महलिामैत्री नभएको आरोप लगाइन् । उनले आम महिलाहरुको अधिकारका लागि संसदमा बोल्ने महिला सांसदहरुले आफ्नै अधिकारका लागि लड्न नपरोस् भन्दै बागमती सरकारको मन्त्रिमण्डल समावेशी बनाउन आग्रह गरिन् । थाहा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*