एकै ठाउँमा केन्द्रित हुँदै प्रदेश ५ का मन्त्रालय

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार ०६:०१

प्रदेश ५ का मन्त्रालयहरू एकै ठाउँमा केन्द्रित हुन थालेका छन् । संघीय सरकारले बुटवलस्थित सडक डिभिजन कार्यालयको भवन प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरेसँग छरिएका मन्त्रालयहरू एउटै परिसरभित्र रहन थालेका छन् । सबै मन्त्रालय डिभिजन हाताभित्र रहेकाले यसलाई ‘मिनी सिंहदरबार’ समेत भन्न थालिएको छ ।

नेकपा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले प्रदेश राजधानीका लागि बुटवल सबैभन्दा उपयुक्त स्थान भएको ठहर गरेको थियो । सोही अनुसार सडक डिभिजन कार्यालयको कम्पाउन्डभित्र ‘मिनी सिंहदरबार’ बनाउन सिफारिश गर्दै संघीय सरकारसँग जग्गा र भवनहरूको स्वामित्व माग गर्ने निर्णय गरेको थियो ।

संघीय सरकारले भवन उपलब्ध गराउने निर्णय गरेसँगै हेभी इक्युपमेन्ट कार्यालयको नवनिर्मित भवनमा सामाजिक विकास मन्त्रालय सरिसकेको छ । त्यस्तै आन्तरिक राजस्व कार्यालयका भवनमा १ हप्ताभित्र आर्थिक मामिला तथा योजना मन्त्रालय सर्दै छ । १ वर्ष अघि भौतिक पूर्वाधार तथा विकास मन्त्रालय तत्कालीन इलाका प्रशासन कार्यालयको नवनिर्मित भवनका सरिसकेको छ । यातायात व्यवस्था कार्यालय ९सवारी० को कार्यालय उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय छ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, मुख्यमन्त्री शंकर पोखरलेको निवास पनि छ ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सडक डिभिजन कार्यालय ‘मिनी सिंहदरबार’ बन्दै गएको बताए । ‘प्रदेशका सबै मन्त्रालय एकै ठाउँमा एकीकृत भएपछि यसले प्रदेश पाँचको राजधानी बुटवल नै हुन्छ भन्ने संकेत गरेको छ’ उनले भने, ‘यसले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा जानको लागि लाग्ने समयदेखि झन्झटको अन्त्य हुने छ ।’

सांसद श्रेष्ठले अब प्रदेशका ७ ओटै मन्त्रालयका लागि सडक डिभिजन कार्यालयका जग्गामा रहनुपर्ने बताए । ‘अब राजधानीका लागि भौतिक संरचना अभाव भन्ने कुरा गर्न आवश्यक छैन । सबै मन्त्रालयका लागि यो जग्गा पर्याप्त छ,’ उनले भने, ‘सबै मन्त्रालय यहीँ परिसरमै अट्छन् । निर्देशनालयहरू जहाँ ९जिल्लाभर० राखे पनि हुन्छ ।’

प्रदेश ५ सरकार गठनपछि २०७४ चैत १५ गते प्रदेशले बनाएको कार्यालय व्यवस्थापन सहयोग समितिले सडक डिभिजन कार्यालयको कम्पाउन्डभित्र बनेका यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, लगायत सरकारी कार्यालयलाई अन्यत्र व्यवस्थापन गरी प्रदेश सभाका लागि आवश्यक मन्त्रालय, मातहतका निर्देशनालय, महाशाखा र शाखा तथा संसद् सचिवालय बनाउने निर्णय गरेको थियो ।

प्रदेशका मन्त्रालयहरूले बुटवलमा भवन खोजिरहेकै समयमा आन्तरिक राजस्व विभागले बुटवलको कार्यालयलाई स्थानान्तरण गर्न भवन खोजी गर्न लगाएको थियो । सोहीअनुरूप भवन खोजिएको थियो । तर, यसबारे थप केही निर्णय नआएपछि कार्यालय स्थानान्तरण हुन सकेको थिएन ।

हेभी इक्युपमेन्टका इन्जिनीयर गोविन्द शाहीले आफूहरूको नयाँ भवनमा सामाजिक विकास मन्त्रालय आए पनि आफूहरू कहाँ सर्ने अझै टुंगो नलागेको बताए । ‘हाम्रो नयाँ भवन लिए । हाम्रो कार्यालयमा अर्बौंका महत्त्वपूर्ण हेभी सामान छन् । तिनीहरू कहाँ सार्ने अझै ठेगान छैन । हामी अहिले यो पुरानो जीर्ण भवनमा बसेका छौं,’ उनले भने । मन्त्रालयहरू एकीकृत हुुँदै गए पनि मन्त्री निवास भने भैरहवासम्म छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*