बागमती प्रदेशसभा वैठकः चिनका नेपाली उद्धारमा सरकारको ढिलाई

जनपत्र
२७ माघ २०७६, सोमबार २०:५९

हेटौंडा । चिनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेको नेपाली विद्यार्थीहरुलाई छिटो उद्धार गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।बागमती प्रदेशका सांसदहरुले नेपाली विद्यार्थीहरुको उद्धारमा संघीय सरकारको ढिलासुस्ती भएको भन्दै प्रश्न गरेका छन् ।

बागमती प्रदेशसभाको आज सोमबार भएको बैठकमा प्रदेशसभाका ११ जना सदस्यहरुले चीनको वुहान सहरमा रहेका १ सय ८० जना नेपाली विद्यार्थीहरुलाई संघीय सरकारले छिटो उद्धार गरी क्वारेन्टाइनमा राख्न माग गरेका छन् ।

सांसदहरुले संघीय सरकारको ढिलासुस्तीको आलोचना गर्दै बागमती प्रदेश सरकारको पनि ध्यानाकर्षण गराए । सांसदहरुले चिनियाँ सहरमा रहेका विद्यार्थीहरुको उद्धारमा संघीय सरकारले ढिलासुस्ती गरेको भन्दै अभिभावकहरुले दुःख प्रकट गरेकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले नेपाली विद्यार्थीहरुको उद्धारमा संघीय सरकारले ढिलासुस्ती गरेको प्रति प्रदेश सरकारको पनि ध्यानाकर्षण हुनुपर्ने सुझाव राखेका छन् ।

नेपाली विद्यार्थीहरुमा कोरोना भाइरस संक्रमण हुनु अवागै उद्धार गरी स्वास्थ्य उपचारको उचित व्यवस्थापन गर्न संघीय सरकारलाई प्रदेश सांसदहरुले आग्रह गरे ।

नेपाली विद्यार्थी ल्याउन अन्तिम तयारीः मन्त्री

प्रदेशसभा बैठकमा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले प्रधामन्त्रीको निर्देशन अनुसार चीनको वुहान सहरबाट विद्यार्थीहरु ल्याउन अन्तिम तयारी भइरहेको बताएका छन् ।

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री दुलालले त्यहाँ विद्यार्थीहरुको अवस्था बुझ्न उच्च स्तरीय चिकित्सकहरुको टोली चीनतर्फ पठाइएको पनि सदनलाई जानकारी गराएका छन् ।

उनले प्रदेश सरकारको कार्यक्षेत्र अन्तरगत अहिले चितवनको भरतपुर, सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङमा हेल्थ डेक्सको स्थापना गरिएको बताए ।

नागरिकलाई कोरोना भाइरसबाट संक्रमण हुन नदिन जनचेतनाहरु ज्गाउने कार्यक्रम भएको उल्लेख गरे । बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गलाई तत्काल स्तरीकरण गर्ने जानकारी दिएको छ ।

हेटौंडा–कुलेखानी–काठमाडौं जोड्ने छोटो मार्ग तत्काल स्तरीकरण

आज सोमबार बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट जवाफ दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडा–कुलेखानी–काठमाडौं जोड्ने छोटो मार्ग तत्काल स्तरीकरण हुने जनाएका छन् ।

प्रदेशसभाको केही दिनअघि बसेको बैठकमा सदस्यहरुले उठाएका राष्ट्रिय सरोकारको विषयमा जवाफ दिँदै मन्त्री जम्मकट्टेलले काठमाडौंको बल्खुबाट हेटौंडा जोड्ने कुलेखानी सडकखण्डलाई तत्काल निर्माण गर्न प्राविधिक तयारी सुरु गरिएको जनाएका हुन् ।

पुस अन्तिम साता भएको प्रदेशसभा बैठकमा अधिकांश प्रदेशसभा सदस्यहरुले हेटौंडा आउने सडकखण्ड खतरा भएको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए । यसअघि काभ्रेका प्रदेश सांसद चन्द्र लामाले हेटौंडा आउँदा सडकको अवस्था देखेर आफूलाई यात्रा गर्न डर लाग्ने बताएका थिए ।

मन्त्री जम्मकट्टेलले प्रदेशको यातायात क्षेत्रको विकास र सुदृढीकरणको लागि प्रदेश सरकारले अनुगमन गर्न टोली पठाएको बताए । मुख्यमन्त्री पौडेलले यसअघि पटक–पटक हेटौंडा जोड्ने सबै सडकखण्डलाई स्तरीकरण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । तुखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*