समृद्ध नेपाल निर्माणको अभियानमा पत्रकारहरु लाग्नुपर्छ– मुख्यमन्त्री पौडेल

जनपत्र
२५ माघ २०७६, शनिबार १६:०६

हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकारहरु पनि लाग्नुपर्ने बताउनुभएको छ । पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारहरुलाई प्रथमिकता दिन अनुरोध गर्नुभयो ।

प्रेस संगठन, नेपालको बाग्मती प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम तथा प्रथम प्रदेश भलामा बोल्दै सञ्चार माध्यमहरुले नकारात्मकता प्रवाह गरेर नागरिकहरुमा नैराश्यता पैदा गराइदिनु नहुने बताउनुभयो ।

पत्रकारहरुले सरकारका राम्रा कामहरुको बारेमा जनतालाई सुसूचित गराउनुपर्ने उल्लेख गर्नुभयो । पत्रकारहरु आफ्ना दायित्वहरुबाट पन्छिन नहुने बताउनुभयोे । उहाँले अवस्था अनुसार नेतृत्व अलग हुने गरेपनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकोले सरकार प्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रिया कमजोर हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकार प्रति सकारात्मक भैदिन अनुरोध गर्नुभयो ।

सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखीहालेपनि नराम्रो गरी नै प्रस्तुतीकरण गर्ने गरेको देख्छु त्यसले कसैलाई पनि राम्रो गर्दैन उहाँले भन्नुभयो । हामी मात्रै ठिक र अरु सबै बेठिक भन्ने मानसिकतालाई त्याग्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुका लागि प्रदेशले धरैकुराहरु गर्न चाहेको भएपनि नसकिरहेको बताउनुभयो । उहाँले देशको “मेकानिजम” नै परिर्वतनको वाधक भएको बताउनुभयो । उहाँले व्यवस्था बदलिएर पनि कसैलाई केही फरक नपरेको बताउनुभयो । मन्त्री जम्कट्टेलले कुरा गरेर समाजबाद नआउने बताउँदै काम गरेमात्र परिवर्तन हुने उल्लेख गर्नुभयो ।

विश्वमा भएको विकास हेरेर जानेर लागू गर्न हामी किन सकिरहेका छैनौं भन्ने मुल्यांकन गरिनु पर्ने उहाँको भनाई थियो । वर्तमान व्यवस्था यथास्थितीवादीहरुको नदेखिदो घेराबन्धीमा रहेको बताउँदै त्यो तोड्न पत्रकारहरु लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रेस संगठनका सदस्यहरुले उत्पिडनका विरुद्ध आवाज वुलन्ध गर्नुपर्ने बताउनुभयो । उहाँले समाजको मुख्य उत्तरदायित्व बोक्ने पत्रकारले समाजलाई अगाडि लाने दायित्वलाई आत्मासात गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सत्यका पक्षमा लाग्नबाट विचलित नभई पूर्व सेन्टर वा पूर्व चौतारीकाबीचमा कुनैपनि भिन्नता नराखी काम गर्न निर्देशन दिनुभयो ।

प्रेस संगठन नेपालका सहसंयोजक ओम शर्माले खोजी पत्रकारितामा लाग्न संगठनका सदस्यहरुलाई अनुरोध गर्दै आफूलाई अन्यको तुलनामा सक्षम र सवल बनाउन अनुरोध गर्नुभयो । कार्यक्रममा तत्कालिन प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस संगठनमा आवद्ध पत्रकारहरुलाई “पेडन्युज” र “फेकन्युज” बाट अगल रहेर जिम्मेवार पत्रकारका रुपमा काम गर्न अनुरोध गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*