मकवानपुरको थाहानगरको विकासमा २३ करोड बजेट थपियो

हेटौंडा । मकवानपुर थाहा नगरपालिकाले चालु आर्थिक वर्षको संशोधित बजेट ९४ करोड ३० लाख ५ हजार रुपियाँ पु¥याएको छ । १७ माघमा सम्पन्न छैठौं नगरसभाले उक्त संशोधित बजेटलाई पास गरेको छ । गत असारमा सम्पन्न पाचौं नगरसभाले पास गरेको ७१ करोड ४१ हजार ७१ हजार रुपियाँको बजेटमा संशोधन गरी नगरको चालु आर्थिक वर्षका लागि २२ करोड ८८ लाख ३४ हजार रुपियाँ बजेट थपिएको छ ।
पालुङ जेसीज सभाहलमा संचालन भएको सभामा नगर उपप्रमुख खड्ग गोपालीले पेश गरेको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख लवशेर विष्टले सभामा निर्णयार्थ प्रस्ताव पेश गरेका थिए । नगर प्रमुख विष्टको प्रस्तावमा सभाले बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको हो । सभाले चालु आर्थिक वर्ष २०७६/०७७ को लागि विषयगत कार्यालयतर्फ प्राप्त सशर्त २० करोड ३९ लाख ४१ हजार, आन्तरिक स्रोत १९ करोड ५९ लाख ४० हजार, राजश्व बाँडफाँड १४ करोड ८२ लाख ६० हजार, वित्तिय समानिकरण अनुादन १४ करोड २४ लाख १० हजार अन्य सरकारी अनुदान १२ करोड ६४ लाख ५४ हजार, सामाजिक सुरक्षा भत्ता १० करोड र समपुरक अनुदान २ करोड ६० लाख समावेश गरी संशोधित बजेट ल्याएको हो । यस अन्तर्गत चालुतर्फ ७ करोड १५ लाख ३० हजार, पुँजीगततर्फ ५४ करोड १५ लाख ३४ हजार रुपियाँ रहेको छ ।
नगरसभाबाट पास भएको बजेटमा पाँचौ नगरसभाले पास गरेको बजेटमा चालु खर्च तथा पुँजीगत दुवै बढेको छ । असारमा भएको पाँचौ नगर सभाले ६ करोड ८५ लाख ६८ हजार चालु र पुँजीगततर्फ २९ करोड ३६ लाख ६२ हजार बजेट विनियोजन गरेको थियो । त्यस्तै विषयगत सशर्त अनुदान पनि बजेटको आकार बढेको छ भने पाँचौ नगरसभाको तीनगुणा बढि आन्तरिक आय बढेको छ । ५ करोड १५ लाख ६० हजार अनुमान रहेको आन्तरिक आय छैठौं नगरसभाले १९ करोड ५९ लाख ४० हजार प्रक्षपन गरिएको छ ।
थाहा नगरपालिकाले चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा चालु खर्च ३ करोड ३२ लाख ६४ हजार र पुँजीगत खर्चतर्फ २४ करोड ४९ लाख ६६ हजारगरी जम्मा २७ करोड ८२ लाख ३० हजार खर्च गरेको छ । यो पाँचौं नगरसभाको विनियोजित बजेटको ३७ प्रतिशत वित्तिय प्रगति हो ।
थाहा नगरपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सम्पूर्ण योजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको थियो । नगरसभामा गरिएको योजना समिक्षाको क्रममा योजना अनुसारका कामलाई लक्ष्य पूरा गर्न नसकेको ठहर सहित प्रत्येक वडामा आम नगर सदस्यहरुले छिटो योजनाहरुको काम सम्पन्न गर्न अनुगमन तथा मूल्याङ्कन गर्न उपभोक्ता समितिहरु गठन गर्न र योजना कार्यान्वयन गर्न तदारुपता देखाउनुपर्ने निष्कर्ष निकालेको छ ।
साथै हाम्रा योजनाहरु सबै लगत इष्टमेट, उपभोक्ता समिति गठन र सम्झौता समेत भई जनाउँदै फागुन मसान्तसम्ममा सम्पन्न गराउन सबै तह र तप्काबाट आवश्यक सहयोगको आवश्यकता रहेको जनाइएको छ । थाहा टाइम्सबाट ।