बागमती प्रदेश सरकार आफैंले बिजुली बस चलाउने, साझासँगको सहमति तोडियो

जनपत्र
५ माघ २०७६, आईतवार १९:११

हेटौंडा । बागमती प्रदेश सरकारले बिजुली बस चलाउन साझा यातायातसँग गरेको सम्झौता तोडेको छ । अब प्रदेश सरकार आफैंले बिजुली बस चलाउनेछ ।

बिजुली बस चलाउन साझासँग केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले सहकार्य गरेको थियो । केन्द्र सरकारले ३ अर्ब दिने सहमति गरेको थियो भने प्रदेश ३ सरकारले ३० करोड ।

यस्तै काठमाडौं महानगरपालिकाले १० तथा ललितपुर महानगरपालिकाले साढे २ करोड दिने तथा साझा आफैंले साढे २ करोड हालेर ३ अर्ब ४५ करोड जम्मा गर्ने र बिलुजी बस चलाउने सहमति भएको थियो । त्यसअनुसार साझाले बस खरिद प्रक्रिया थालेपछि केन्द्र सरकारलाई त्यसलाई रोक्यो ।

अब बागमती प्रदेश सरकारले यसबाट हात झिकेको छ । साझालाई दिने भनिएको ३० करोड रोक्न र प्रदेश सरकार आफैंले यातायात कम्पनी खडा गरेर बस सञ्चालन गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ‘जनतालाई सुविधा दिन निजी क्षेत्रको मात्र भर पर्ने होइन, अब आफैं विद्युतीय बस खरिद गर्छौं, ‘ उनले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यही महिनाभित्र बस खरिद प्रक्रिया अगाडि बढाइनेछ ।

बस सेवा सञ्चालनका लागि पाँच ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्नेसमेत उनले बताए । विद्युतीय बस चार्ज गर्न हेटौंडा, चितवन, काठमाडौं र धुलिखेलको बसपार्कमै तथा र काठमाडौं र मुग्लिङको बीचमा टेशन बनाउने योजना उनले सुनाए । स्टेसन निर्माणको लागि गजुरी र गल्छि गाउँपालिकाको क्षेत्रमा स्थान खोज्न स्थानीय तहका नेतृत्वलाई जिम्मा दिइएको छ । हेटौंडाबाट भरतपुर हुँदै काठमाडौंसम्म २२७ र काठमाडौंबाट धुलिखेल ३० किलोमिटर दुरी हुनेछ ।

लगानी गर्न स्थानीय सरकारलाई आह्वान

प्रदेश सरकारले विद्युतीय बस खरिद तथा सञ्चालनमा सहकार्य गर्न स्थानीय सरकारहरुलाई आह्वान गरेको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बस खरिदका लागि महानगरले १० करोड लगानी गर्ने बताए ।

प्रदेश सरकारले हेडौंडा उपहानगर, भारतपुर महानगरसँग पनि सहकार्य गर्न खोजेको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, ललितपुर महाँनगरपालिकाका मेयर, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको सहभागिता रहेको थियो । अनलाईन खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*