कलाकारको भीड हुँदा पनि चलेन ‘लक्का जवान’ गीत

केही वर्ष अगाडिसम्म युट्युबमा कुनै गीतलाई एक लाख पटक हेरियो भने हिट मानिन्थ्यो । अचेल करोड भ्यूज पनि सामान्य मानिन्छ । गीत युट्युबको ‘ट्रेन्डिङ’ मा आयो भने हिट मान्ने पनि एकथरी जमात छ । त्यसैले आजभोली आत्मरतीमा रमाउन गीतलाई यूट्युबमा जबरजस्ती हिट बनाउन डलर खर्च गरेर ‘बुस्ट’ समेत गर्ने गरिन्छ । तर, गीत चल्न गीत आफैंमा राम्रो हुनुपर्छ भन्ने सोचाई भने कमैमा छ । अझ, नेपाली फिल्म क्षेत्रमा गीत युट्युबमा हिट भएपछि हलमा पनि फिल्म हिट हुने विश्वास निर्मातामा छ ।
तर, युट्युबमा गीत हिट हुँदाको फाइदा एकाध फिल्मले मात्र उठाएका छन् । ‘छक्का पञ्जा’ र ‘नाईं नभन्नू ल’ सिरिज यसका उदाहरण हुन् । यी फिल्मको सुरुवाती व्यापारमा गीतको ठूलो योगदान छ । तर, गीत हिट भएर पनि फिल्म नचलेका उदाहरण यहाँ थोरै छैनन् । यद्यपि, गीत युट्युबमा राम्रो चलेको खण्डमा फिल्मको हाइप निर्माणमा धेरै हदसम्म मद्दत भने पुग्छ ।
माघे संक्रान्तिको अवसर पारेर कलाकारहरुको ठूलो भीड रहेको कमेडी फिल्म ‘लक्का जवान’ को शिर्ष गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक भयो । यो गीतलाई लिएर निर्माण टिमको ठूलो आश थियोरछ । गीतमा ठुम्का लगाएका कलाकारहरुको भीड हेर्दा गीतले युट्युबमा सफलता हात पार्ने अनुमान गरिएको थियो । तर, गीतलाई तीन दिनमा ३ लाख भ्यूज पनि मिलेको छैन ।