इटहरी उपमहानगरको स्मार्ट पार्किङ योजना

जनपत्र
२७ पुष २०७६, आईतवार ०६:२३

इटहरी उपमहानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । उपमहानगर–४, डाटयांग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा २ कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ निर्माण गर्ने योजना अघि सारिएको उपमहानगरका इन्जिनीयर जीवन घिमिरेले बताए । स्मार्ट पार्किङ अबको साढे ४ महीनाभित्र सम्पन्न भएर सञ्चालनमा आउने उनले जानकारी दिए ।

करीब १० करोड रुपैयाँ लागतमा बन्ने स्मार्ट पार्किङका लागि संघीय सरकारले समपूरक योजना अन्तर्गत रू। ५ करोड २० लाख रकम विनियोजन गरिसकेको घिमिरेले बताए । ‘स्मार्ट पार्किङ निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया शुरू भइसकेको छ,’ उनले भने, ‘अब छिट्टै निर्माण प्रक्रिया अगाडि बढ्छ ।’

स्मार्ट पार्किङ क्षेत्रमा एकै पटक १०० भन्दा बढी सवारीसाधन पार्क गर्न सकिने घिमिरेको भनाइ छ । ‘त्यहाँ पार्क गराउन ल्याइने सवारीसाधनलाई अटोमेटिक सफ्टवेयर सिस्टमले १ मिनेटमै खाली ठाउँमा पठाउने व्यवस्था हुनेछ,’ उनले भने, ‘स्मार्ट पार्किङ क्षेत्रभित्र गाडी धुने स्मार्टवाश र कफीशप समेत रहनेछ ।’

स्मार्ट पार्किङ निर्माण पछि इटहरी क्षेत्रमा रहेको पार्किङ समस्या समाधान हुने उपमहानगरको बुझाइ छ । इटहरीमा बढ्दो सवारी चापलाई दृष्टिगत गर्दै व्यवस्थित पार्किङ गर्न उक्त योजना अगाडि सारिएको उपमहानगरले बताएको छ ।

बजार क्षेत्रमा सार्वजनिक शौचालय समेत बनाउन नसकेको उपमहानगरले अघि सारेको स्मार्ट पार्किङको योजनालाई स्थानीयले महानगरको महत्वकांक्षी योजना मात्र रहेको टिप्पणी गरेका छन् । शौचालय जस्तो अत्यावश्यक पूर्वाधार समेत निर्माण गर्न नसकेको महानगरले स्मार्ट पार्किङ बनाउँछ भन्नेमा विश्वस्त नरहेको उनीहरूको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*