प्रदेश ३ को नाम वागमती राख्न्नेमा सवै दल सहमत, स्थायी राजधानी हेटौंडाको पक्षमा धेरै सांसद

जनपत्र
२६ पुष २०७६, शनिबार १३:३२

हेटौंडा । प्रदेश ३ को नाम वाग्मती र स्थायी राजधानी हेटौँडा नै राख्न साझा र विवेकशील बाहेकका दल सहमत भएका छन् । विवेकशील नेपाली र साझा बाहेक सत्तारुढ नेकपा, मुख्य विपक्षी नेपाली कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती हुनुपर्ने प्रस्ताव संसदमा दर्ता गराएका छन् । तर, विवेकशील नेपाली र साझा पार्टीले भने प्रदेशको नाम वाग्मती नै रहे पनि राजधानी भने काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयमा राजधानीको नाम सम्बन्धी प्रस्ताव प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले र प्रदेशको नाम नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाले दर्ता गराउनुभएको हो । सत्तारुढ र सबैजसो विपक्षी दल सहमत भएपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ ।
प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् ।

आजै दिउँसो प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहनुभएको छ । उक्त प्रस्तावलाई समर्थन गर्नेहरूमा प्रतिपक्ष दलका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ हुनुहुन्छ ।

यसैगरी काभ्रेपलाञ्चोक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहनुभएको छ । समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य हुनुहुन्छ । सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताउनुभयो । यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०६जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*