प्रदेश राजधानी हेटौंडा हुने पक्का, विष पिउँ कि पार्टी छाडौं – राजेन्द्र पाण्डे

जनपत्र
२४ पुष २०७६, बिहीबार ०८:५५

प्रदेश ३ को राजधानी हिउँदमा हेटौंडा र वर्षामा काभ्रेमा राख्ने अन्तिम विकल्पमा समेत शीर्ष नेतृत्व तयार नभएपछि अब नेकपाका प्रदेशसभा सदस्यसमक्ष पार्टीको निर्णय मान्ने वा पद त्याग्नेबाहेक अन्य विकल्प नरहेको नेता राजेन्द्र पाण्डेले बताएका छन् ।

मंगलवार अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र महासचिव बिष्णु पौडेलसहित शीर्ष नेतृत्वसमक्ष पाण्डेले अन्तिम विकल्पका रुपमा दुई ठाउँमा राजधानी कायम गर्ने प्रस्ताव राखेका थिए । तर, नेतृत्वले निर्णय मान्न वा पद त्याग्न तयार हुनेबाहेक अरु विकल्पमा अहिले छलफल नहुने कठोर जवाफ दिएपछि प्रदेश नेताहरु निराश भएर हेटौंडा फर्किएका छन् ।

हेटौंडाको पक्षमा ह्वीप जारी गर्नुअघि अन्तिम पटक छलफल गर्न नेकपा नेतृत्वले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, नेताहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईलगायत केही मन्त्री र प्रमुख सचेतकलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

प्रचण्डको भनाइ थियो – प्रदेशका राजधानीमा पनि तपाईहरु धेरै अडान नलिनुस् । बाँके बर्दिया भोलि कर्णालीमा जान सक्छन्, हेटौंडालाई माझमा पार्न बारा पर्सा रौतहट प्रदेश ३ मा रामेछाप, दोलखा सिन्धुली प्रदेश २ मा जान पनि सक्छन् ।

छलफलमा शाक्य, पाण्डे र चौलागाईले सचिवालयको निर्णयप्रति आक्रोश पोख्दै प्रदेशसभा सदस्यका कुरा सुन्न हेटौंडामा आउन चुनौति दिएका थिए । आफूहरुले दलको बैठकमा कुरा सुन्न आउनुस भन्दा अध्यक्ष प्रचण्ड र महासचिवले डराएर बालुवाटारमा बोलाएको उनीहरुको भनाइ थियो । प्रदेशसभाको संवैधानिक अधिकार नेकपा नेतृत्वले खोसेको आरोप उनीहरुको थियो ।

तर, दुवै अध्यक्षले एकै स्वरमा हेटौंडा राजधानी र बागमती नाम राख्ने निर्णयबाट ‘ब्याक’ नहुने जवाफ दिएका थिए । प्रचण्डले पहिचानको राजधानी आफ्नै नेतृत्वमा भएको भन्दै आफूले अहिले मुलुक बचाउने बाटो लिएको बताएका थिए । उनले अहिलेका राजधानीहरु सधैंभरका लागि नहुने भन्दै भोलि आवश्यकता अनुसार प्रदेशकै पुनसंरचना हुने बताएका थिए ।

प्रचण्डको भनाइ थियो, राजधानी भनेको केन्द्रको पनि स्थायी हुँदैन । भोलि काठमाडौंलाई सांस्कृतिक राजधानी बनाएर प्रशासनिक राजधानी अन्तै जान पनि सक्छ । प्रदेशका राजधानीमा पनि तपाईहरु धेरै अडान नलिनुस् । बाँके बर्दिया भोलि कर्णालीमा जान सक्छन्, हेटौंडालाई माझमा पार्न बारा पर्सा रौतहट प्रदेश ३ मा रामेछाप, दोलखा सिन्धुली प्रदेश २ मा जान पनि सक्छन् ।

अर्का अध्यक्ष ओलीले प्रदेश राजधानी र नामसम्बन्धी निर्णयमा कमा फुलिस्टप पनि परिवर्तन नहुने कठोर जवाफ दिएको पाण्डेले बताए । ओलीले अमेरिका र रुसको उदाहरण दिँदै कुनै पनि हालतमा जातीय नारामा नजाने बताएका थिए ।

प्रधानमन्त्री ओलीको भनाइ थियो, अमेरिका किन कहिल्यै आन्तरिक द्वन्द्वमा जाँदैन ? किनकी त्यहाँ जातीय आधारमा राज्य बनेन । तर, रुस जातीय नारामा बन्यो, जातीय नारामै मुलुक सकियो । कमा फुलिस्टप पनि परिवर्तन हुँदैन । पार्टी निर्णय नमान्नेले पार्टीमा छैन भनेर बुझे हुन्छ । निर्वाचन आयोगले सूचना जारी गरिसकेको छ । पद पनि रहँदैन, पार्टीमा पनि रहिँदैन ।

प्रदेश राजधानीको सन्दर्भमा मुख्यतः पूर्वएमालेभित्र माधव नेपाल पक्षधर नेताहरुको असन्तुष्टि रहेको र उनीहरुको नेतृत्व पाण्डे र चौलागाईले गरेकाले शीर्ष नेताले बोलाएर छलफल गरेका हुन् ।

प्रदेश इञ्चार्ज शाक्यले सचिवालयको निर्णयप्रति आपत्ति जनाएकी छन् भने अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल पार्टी निर्णय कार्यन्वयन गराउने पक्षमा छन् ।

नेताहरुसँग प्रदेश इन्चार्ज शाक्यले हेटौंडालाई प्रदेश राजधानी नबनाई नहुने भनेर पार्टीको केन्द्रले जबर्जस्ती निर्णय लाद्न मिल्छ भने देशको केन्द्रीय राजधानी परिवर्तन गर्नुस् भनेकी थिइन् । उनको प्रस्ताव थियो, काठमाडौंको राजधानी चितवन र हेटौडामा लैजाउँ, त्यहाँ राजमार्ग पनि छ । प्रदेशको राजधानी काठमाडौंमा बनाउँ ।

प्रचण्डले आवश्यकता अनुसार राजधानी परिवर्तन गर्न सकिने भनेका थिए । प्रदेश कमिटीका पदाधिकारीहरु पार्टी निर्णय कार्यान्वयन गराउने तयारीमा रहे पनि नेकपाका सांसदहरु अझै सहमत भएका छैनन् । उनीहरुले संगठित रुपमै बहुमतबाट प्रदेश राजधानी हेटौंडा बनाउन प्रयास असफल बनाउनेबारे छलफल समेत गरिरहेका छन् । तर, गुटका आधारमा विभाजित भएमा यो प्रयास सफल हुने देखिन्न ।

प्रदेशसभाको बैठक विहीबार बस्दैछ । त्यसअघि नेकपा संसदीय दलको बैठक राखेर एकमत गराउने प्रयास हुने नेकपा नेताहरुले बताएका छन् । सम्भवतः संसदीय दलको तर्फबाट हेटौंडा र बागमतिको पक्षमा ह्वीप जारी हुनेछ । ह्वीप उल्लंघन गर्न कुनै नेकपा सांसद तयार होलान् ? त्यो सम्भावना भने देखिन्न । त्यसो भयो भने पद र राजनीति दुवै सिद्धिने चेतावनी नेतृत्वले दिइसकेको छ । अनलाईन खवरबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*