हिट फिल्मका स्क्रिप्टराइटर ‘अन्डरग्राउन्ड’

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय केही सीमित ब्यानर र व्यक्तिका चलचित्र मात्रै बक्स अफिसमा चलिरहेका छन् । वार्षिक सयको हाराहारीमा चलचित्र रिलिज भए पनि केही व्यक्ति र ब्यानरका चलचित्रतर्फ मात्रै दर्शक आकर्षित हुँदै आएका छन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ सिरिज, झरना थापाको ‘ए मेरो हजुर’ सिरिज र निर्देशक प्रदीप भट्टराई निर्देशित चलचित्र दर्शकका रोजाइमा पर्दै आएका छन् । यी तीनवटै चलचित्रका निर्देशक तथा निर्माता अहिले स्क्रिप्टमा लेखनमा व्यस्त छन् । ‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेका निर्देशक भट्टराईले आफू अहिले नयाँ चलचित्रको लेखिरहेको बाह्रखरीलाई बताए । “अहिले हामी स्क्रिप्टमा छौं, स्क्रिप्ट राम्रो नभएसम्म चलचित्रको घोषणा गर्दैनौं,” प्रदीप भन्छन्, “स्क्रिप्ट नै चलचित्रको मेरुदण्ड भएकाले यसमा हतार गर्दैनौं ।”
प्रदीप सोसल ड्रामा जानराको चलचित्रको स्क्रिप्ट लेखिरहेको बताउँछन् । आफूले बनाउँदै गरेको चलचित्र पहिला आफैंलाई मन पर्नुपर्ने उनको बुझाइ छ । “मलाई नै मन परेन भने दर्शकलाई पनि मन पर्दैन । चलचित्र दर्शकसम्म पुग्नुभन्दा पहिला कथा लेख्ने व्यक्तिलाई नै मन पर्नुपर्छ,” उनी भन्छन्, “आफूले सोचेको कथालाई मिहिन ढंगले केलाउनुपर्छ । भित्री तहसम्म पुगेर विषयवस्तुको गुदी पत्ता लगाउनुपर्छ । आफूले पटकपटक सोचेको कथा आफ्नो चलचित्र युनिट र मनले खाएका केही अनुभवी र जान्नेलाई सुनाउनुपर्छ ।” अहिले उनी आफूले उठाउन खोजेको विषयको अध्ययन गरिरहेका छन् ।
केही समयअघि ‘जात्रै जात्रा’का निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले नेपालमा राम्रो स्क्रिप्ट र लेखकको अभाव रहेको भन्दै राम्रो स्क्रिप्टलाई १८÷२० लाख रुपैयाँ तिर्न तयार रहेको बताएका थिए । राम्रो स्क्रिप्ट लेख्न सक्ने स्क्रिप्टराइटर नरहेको उनी बताउँछन् । चलचित्र निर्माताहरू स्क्रिप्टमा खर्च नगर्ने तर अन्य पक्षमा महँगो खर्च गर्ने आरोप लागिरहेका बेला रवीन्द्रले स्क्रिप्ट राम्रो आए पैसा तिर्न आफूहरू तयार रहेको बताएका हुन् ।