प्रदेशको राजधानी हेटौंडाका विषयमा थोरै विरोध आएपनि पार्टीको निर्णय मान्ने तयारी

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ को संसदीय दलको वैठक आज फेरी वस्ने भएको छ । हिजो नेकपाका ८० जना सांसद मध्य १७ जना सांसदले मात्र प्रदेशको राजधानी र नामाकरणका विषयमा आफ्ना धारणा राखेका छन् ।
बाँकी सांसदहरुले आज फेरी आफ्ना धारणा राखेपछी मात्र प्रदेशको राजधानी र नामाकरणका विषयमा निर्णय गरेर प्रदेशसभामा पार्टी एक ढिक्का भएर जाने तयारी भएको छ । हिजो स्थगित भएको वैठक आज फेरी ११ वजेका लागि प्रदेशका नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले वोलाउनुभएको उहाँका प्रेस संयोजक प्रकास दाहालले वताउनुभयो ।
प्रदेश राजधानीका विषयमा काभ्रे लगायतका केही जिल्लाका सांसदहरुले थोरै विरोध गरेपनि प्रदेशको राजधानी र नामाकरणका विषयमा नेकपा सचिवालयले गरेको निर्णय मान्ने तयारी संसदीय दलले गरेको छ ।
हिजो बोल्ने क्रममानै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीका विषएमा एक मत भएर जाने वताउनुभएको छ । नेकपा संसदस्य दलको वैठकमा अवसरमा हेटौंडामा वोल्दै उहाँले भन्नुभयो–‘प्रदेशको नाम र राजधानीका विषयमा सांसदहरुले सवैले आफ्ना धारणा राखौं । समयको कुनै पावन्दी छैन । वैठक भोली सम्म पनि चल्न सक्छ । तर, वैठकबाट निस्कीएपछी एक मत भएर निस्कनुपर्छ ।’
प्रदेशको नाम र राजधानी पुस २२ गते सम्ममा अवेर सम्म भने पनि सकेर मात्र निस्कने मुख्यमन्त्री पौडेलले वताउनुभयो । नेकपाका प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका पौडेलले लामो समयदेखि टुङ्गो लगाउन नसकेको नाम र राजधानीको विषय अव बाँकी राख्न नहुने वताउनुभयो ।
वैठकमा नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज तथा प्रदेश सभाका सदस्य अष्टलक्ष्मी शाक्य, पाटीका केन्द्रीय नेता काँशीनाथ अधिकारी, नेता राजेन्द्र पाण्डे, नेकपाका प्रदेशका नेताहरु, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतकाको सहभागिता रहेको छ । नेकपाका प्रदेशसभाका धेरै जसो सांसदहरु संसदीय दलको वैठकमा सहभागि छन् ।