आलोचनाबाट बच्न मिति तोक्दै सार्दै ओली र दाहाल

जनपत्र
१९ पुष २०७६, शनिबार ०६:२२

पार्टी एकताका बाँकी काम १५ दिनभित्र सम्पन्न गरिसक्ने आफ्नै निर्णय कार्यान्वयमा फेरि एकपटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली चुक्ने देखिएको छ। यही पुस ६ गते सम्पन्न स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको सहमतिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस २३ गते निर्धारित केन्द्रीय कमिटी बैठक अगावै पार्टी एकताका बाँकी सबै काम सक्ने निर्णय गरेका थिए।

त्यसलाई लिएर स्थायी कमिटी सदस्यले नेतृत्वको कार्यशैली सुधार हुने संकेत गरेकोमा फेरि पनि ओली र दाहाल आफ्नै निर्णय कार्यान्वयनमा चुक्ने देखिएको हो। केन्द्रीय कमिटी बैठक हुन पाँच दिन बाँकी रहँदा त्यससम्बन्धी पर्याप्त गृहकार्य नभएको नेकपा केन्द्रीय सचिवालयका एक सदस्यले देशसञ्चारलाई बताए। यो बीचमा दुई पटकसम्म बसेको केन्द्रीय सचिवालय बैठक प्रदेश तीनको नाम र राजधानी तय र राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने काममा सीमित भएका छन्।

यी बैठकहरुमा पार्टी एकताका बाँकी कामबारे छलफल नै हुन नपाएको र आगामी दिनमा पनि यसले पूर्णता पाउनेमा ती सदस्यले संशय प्रकट गरे। ‘ निर्णय कार्यान्वयन गर्न कति कठिन छ, व्यवहारिक कति छ भन्नेमार नेतृत्वले कहिल्यै सोच्दैन । चर्चा कमाउन र आलोचनाबाट बच्न निर्णय गरिहाल्ने र पछि विभिन्न बहाना बनाएर निर्धारित मितिमा काम भएन भन्ने चलन छ । त्यसले गर्दा पांर्टी पंक्तिमै नकारात्मक असर परिरहेको छ,’ ती सदस्यले भने।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकताको बाँकी कामबारे माथिल्लो तहमा छलफल हुन नपाएको स्वीकार गरेका छन्। अवको पाँच दिनमा पार्टी एकताका बाँकी काम सकिन्छन् त भन्ने प्रश्नमा श्रेष्ठले भने,‘हामी कोशिस गछौँ, काम सकियो भने केन्द्रीय कमिटी बैठकमा जवाफ दिन पनि सहज हुन्छ ।’ नेकपाले अध्यक्ष र सचिव तोकेपनि केन्द्रीय अनुशासन आयोग, केन्द्रीय सल्लाहाकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, लेखा परीक्षण आयोग र निर्वाचन आयोगका सदस्य चयन गर्न बाँकी नै छ ।

यस्तै महत्वपूर्ण ३३ विभागको प्रमुख र उपप्रमुख तोक्न लामो समय लगाएको नेकपाले ती विगभाका सदस्यहरु तोक्न सकेको छैन । २३ वटा जनवर्गीय संगठनमध्ये १८ वटा संगठनले अझै पूर्णता पाउन सकेका छैनन्। नेकपाले महिला, मजदूर, विद्यार्थी लगायत प्रमुख भ्रातृ संगठनहरुको एकता गर्न सकेको छैन। पार्टी एकता भएको १९ महिना भइसक्दा पनि पार्टीको माथिल्ला कमिटीहरुले समेत पूर्णता नपाउँदा तल्लो तहमा निराशा पैदा भएको छ ।

पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले हालैको एक लेखमा भनेका छन्, ‘माथिल्लो तहमा समेत पार्टी एकताका बाँकी काम गर्न १५ दिनको समयसीमा तोकिए पनि काम अगाडि बढ्न सकेको छैन। प्रदेश, जिल्ला, नगर, गाउँ र वडामा लाखौँ कार्यकर्तालाई संगठित नगरे उनीहरुको असन्तुष्टि सडकमा पोखिन सक्छ । जब आफ्नै कार्यकर्ता असन्तुष्ट हुन्छन्, पार्टीलाई कमजोर बनाउन कुनै विपक्षी चाहिदैन।’ पार्टी एकतामा भएको बिलम्बले २०७७ सालमा निर्धारित महाधिवेशन पनि प्रभावित हुने देखिन्छ।

महाधिवेशनको मितिको प्रस्ताव अध्यक्ष ओली र दाहालले नै स्थायी कमिटी बैठकमा गरेका थिए। तर महाधिवेशनको मुख्य कडी नेकपाको वैचारिक र सांगठनिक एकता बलियो हुन सकेको छैन। शीर्ष नेताहरुमा वैचारिक विषयमा अझै तालमेल मिलेको छैन भने पार्टीको तल्लो तहमा सदस्यहरु लथालिङ्ग अवस्था छन्। केन्द्रीय सदस्य रिजालका अनुसार पार्टीको मुख्य आधारका रुपमा रहेका संगठित सदस्यहरुको एकीकरण जटिलरुपमा देखा परेको छ । कम्युनिष्ट पार्टीको सदस्य हुन निश्चित प्रक्रिया पार गर्नु पर्ने अभ्यास रहेकोमा आफ्नो पक्षमा बलियो बनाउन जसलाई पनि सदस्यता दिने र संख्या धेरै देखाउने होड नहोला भन्न सकिन्न। पार्टी एकताले पूर्णता नपाउँदा सरकार सञ्चालनमा उपयुक्त सुझावको अभाव खड्किएको स्थायी कमिटी सदस्य केशव बडाल स्वयं स्वीकार गर्छन्। देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*