नेकपा प्रदेश–३ संसदीय दलको वैठक भोली हेटौंडामा वस्दै

संसदीय दलको वैठकले प्रदेशको स्थायी राजधानी हेटौंडा र नामको विषयमा टुङ्गो लगाउने तयारी
जनपत्र
१७ पुष २०७६, बिहीबार १४:२९

हेटौंडा । नेकपा प्रदेश नम्बर–३ को संसदीय दलको वैठक भोली हेटौंडामा वस्ने भएको छ । प्रदेश ३ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा संसदीय दलको वैठक हेटौंडामा वस्न लागेको हो ।

यही पुस २१ गते प्रदेश सभाको वैठक वस्नु भन्दा अगाडी नेकपा संसदीय दलको वैठक वस्न लागेको नेकपा संसदीय दलका उपनेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो ।

नेकपाको केन्द्रीय सचिवालय वैठकले प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा तोकेगै नेकपा प्रदेश ३ को संसदीय दलको वैठक वस्न लागेको उहाँले जानकारी दिनुभयो । वैठक एकै दिनमा नसकिने भएकाले दुईदिन सम्म चल्न सक्ने उहाँले वताउनुभयो । संसदीय दलको वैठकमा निर्णय भएपछी मात्र प्रदेश सभामा राजधानी र नामाकरणको विषयमा प्रस्ताव लैजाने तयारी छ ।

उता प्रमुख प्रतिपक्षी दलको बैठक काठमाडौंमा हुने भएको छ । बैठकमा राजधानी र नामाकरणसँगै अन्य विषयमाथि पनि छलफल हुने दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको अधिकार प्रदेश सभालाई छ । आगामी प्रदेशसभा बैठकमा राजधानी र नामको विषयले मूर्तरुप पाउनेछ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा राजधानी कायम गर्ने सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएका छन् । केन्द्रले सबै पक्षलाई ध्यान दिएरै रणनीतिक महत्व राख्ने हेटौँडालाई नै प्रदेश ३ को मुकाम कायम गर्ने निर्णय गरेकाले संसदीय दलमार्फत निर्णय कार्यान्वयन गराउन ओली–प्रचण्डले निर्देशन दिएका हुन् ।

गत आइतबारको सचिवालय बैठकले ३ नम्बरको राजधानी हेटौँडा राख्ने र बागमती प्रदेश नामांकन गर्ने निर्णय कार्यान्वयनका लागि प्रदेशको पार्टी नेतृत्व र प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । निर्णय जानकारी गराएर कार्यान्वयनका लागि निर्देशन दिने उद्देश्यले प्रदेश पदाधिकारीलाई दुवै अध्यक्षले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएका थिए । छलफलका लागि बालुवाटार पुगेका प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेलसँग ओली र प्रचण्डले करिब साढे दुई घन्टा छलफल गरेका थिए ।

‘सचिवालयको निर्णयको औपचारिक जानकारी र कार्यान्वयनका लागि अध्यक्षद्वयले बालुवाटारमा बोलाउनुभएको हो,’ प्रदेश अध्यक्ष दाहालले ओली र प्रचण्डलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘बढ्दो जनघनत्व, वातावरणीय प्रभावदेखि सबै हिसाबले केन्द्रीय राजधानी काठमाडौंलाई सुरक्षित गर्दै सेवा–सुविधामा सहज पहुँच स्थापित गर्न हेटौँडाको रणनीतिक महत्व छ, हामीले हचुवाको भरमा निर्णय गरेका होइनाैँ, त्यसैले सचिवालयको निर्णय प्रदेश कमिटीले यथाशीघ्र कार्यान्वयनका लागि पहल लिनुस् ।’

प्रदेश नम्बर ३ को राजधानी हेटौँडा राख्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय निर्णयप्रति सोही पार्टीका सांसदहरुले चर्को विरोध गरेका छन् ।
उनीहरुले उक्त निर्णय कुनै हालतमा कार्यान्वयन हुन नसक्ने भन्दै केन्द्रको हस्तक्षेपकारी निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।
नेकपाका सांसदहरुले संघीयता र संविधानको समेत मर्म विपरित प्रदेशका सांसदहरुले गर्नुपर्ने निर्णयमा पार्टी केन्द्रले हस्तक्षेप गर्न नमिल्ने भन्दै यदि राजधानी तोक्ने विषयमा हस्तक्षेप गरे आफूहरुले त्यसलाई उल्ट्याइदिने चेतावनी दिएका छन् ।
आइतबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको थियो । केन्द्रको यो निर्णयलाई उनीहरुले अव्यवहारिक, असंवैधानिक र अलोकतान्त्रिक संज्ञा दिँदै कुनै हालतमा मान्न नसकिने बताएका छन् ।
‘पहिलो कुरा हाम्रो नेतृत्वले त्यस्तो निर्णय गर्यो भन्नेमा हामीलाई विश्वास नै छैन । कसैले बोलेको भरमा त्यो निर्णय नै हो भन्न पनि सकिदैँन,’ नेकपाका नेतासमेत रहेका प्रदेश नम्बर ३ का सांसद पशुपति चौलागाईँले भने, ‘यदि नेतृत्वले त्यस्तो निर्णय नै गरेको हो भने पनि त्यो हाम्रा लागि कुनै हालतमा मान्य हुँदैन ।’

उनले नेकपा नेतृत्वले यस्तो अविवेकी र असंवैधानिक निर्णय गर्लाजस्तो आफूलाई नलाग्ने बताए । ‘यसरी निर्णय गर्नु भनेको जनमत र संविधान विपरित समेत ठहर्छ,’ उनले भने ।

उनले संघीयता र संविधानले प्रदेश सभालाई आफ्नो प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने अधिकार दिएकाले विधिसम्मत ढंगले प्रदेश ३ को राजधानी टुङ्ग्याउने पनि बताए । ‘हामी केन्द्रको रबर स्ट्याम्प बन्दैनौँ ।

त्यस्तो अपराध गर्न हामीलाई छुट छैन । हामी मतदानमा जान्छौँ र मतदान गर्दा पहिलो प्राथमिकता काभ्रेमा राजधानी राख्ने गरी मतदान गर्छौँ’, चौलागाइले भने, ‘यस विषयमा हामी कसैको आदेश वा निर्देशन पालना गर्दैनौँ ।’

त्यस्तै अर्का प्रदेश सांसद विशाल खड्काले सचिवालयले गरेको उक्त निर्णय अवैज्ञानिक र अव्यवहारिक भएको प्रतिकृया दिए । उनले भने, ‘यदि यही नै पार्टीको निर्णय हो भने अवैज्ञानिक र अव्यवहारिक त छँदैछ, जनभावना विपरित पनि छ । यसमा हाम्रो गम्भीर असहमति रहन्छ । हामी संविधानअनुसार प्रकृयामा गएर राजधानीको टुङ्गो लगाउँछौँ, त्यसमा दुईमत नै छैन ।’

उनले आफूहरु संघीयताको मर्म र संविधानको भावनाविपरित जान नसक्ने भन्दै यसको जवाफ मुख्यमन्त्री र नेकपाको केन्द्रले दिनुपर्ने बताए । ‘पार्टीले यो निर्णय गरेको हो भने सच्चाउने अझै पनि एकमात्र उपाय छ, त्यो भनेको मतदानबाट राजधानी टुङ्ग्याउने हो,’ उनले भने, ‘त्यसरी अघि बढे बहुमत सांसदहरुले हेटौँडा राजधानी हुनुपर्छ भन्नेको विपक्षमा मतदान गर्छन् ।’

उनले प्रदेश संसदबाट निर्वाचनको कार्यविधि समेत पास गरिसकेको अवस्थामा पार्टी केन्द्रले त्यस्तो निर्णय गरेको भए संघीयतालाई ‘झुम्राको पुतली’ बनाउन खोजेको आरोप पनि लगाए । ‘यसरी निर्णय गर्ने हो भने किन संघीयता चाहियो रु किन चाहियो संविधान रु’ उनले भने, ‘यो निर्णय संघीयतालाई झुम्राको पुतली बनाउनेजस्तै हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*