चिप्समात्र खाने युवकको आँखाको ज्योति गुमेपछि…

केबल चिप्स र त्यस्तै प्रकारका बाहिरी खानेकुराका भरमा बाँचिरहेका एक १७ वर्षे युवकको आँखाको ज्योति नै गुमेको छ जसपछि चिकित्सकहरुले सबै युवालाई स्वस्थ डायटबारे सतर्क रहन चेतावनी दिएका हुन् । उनको आँखामा पुगेको क्षतिमा अब कुनै सुधार ल्याउन नसकिने बताइएको छ ।
ब्रिस्टोलका आँखा सम्बन्धी विशेषज्ञहरु डायट नमिलेकै कारण एक युवाको आँखामा भएको क्षति, ज्योति गुम्ने अवस्थासम्म पुगेपछि आश्चर्यमा परेका हुन् । उनीहरुका अनुसार प्रारम्भिक विद्यालयबाट बाहिरिएदेखि नै १७ वर्षका ती किशोर फ्रेन्च फ्राइज, प्रिङ्गल्स र सेतो ब्रेडबाहेक कहिलेकाहिँ ह्याम र ससेज मात्र खाने गर्दथे । यस्तोमा उनको शरीरमा भिटमिनको अत्याधिक कमी देखा परेको हो र चरम कुपोषणको परिणाम स्वरुप तिनको त्यस्तो हालत भएको चिकित्सकहरुको भनाइ छ । उनको नाम भने सार्वजानिक गरिएको छैन ।
खाना अत्यन्तै छानेर खाने बानी
वास्तवमा ती किशोरलाई १४ वर्षकै उमेरमा विभिन्न समस्याका कारण स्वास्थ्य परीक्षण गराइरहनु परेको थियो । त्यसबेला नै उनी अत्यन्तै थकित महसुस गर्ने, कमजोरी लगायत स्वास्थ्य नराम्ररी प्रभावित भइसकेको थियो । यस्तोमा डाक्टरहरुले उनीमा भिटमिन बी १२ को कमी भएको भनि उपचारका क्रममा आफ्नो डायटमा सुधार ल्याउन सुझाव दिएका थिए । तर उनले न डाक्टरहरुको सल्लाह अनुसार डायट बदले न राम्ररी औषधि खाए । यसको तीन वर्षपछि उनलाई ब्रिस्टोल आँखा अस्पतालमा भर्ना गरियो जसबेलासम्म उनको दृष्टि गुमिसकेको इन्टर्नल मेडिसिन जर्नलको रिर्पोटले जनाएको हो । उनको एकदमै छानेर खाने बानी यसका लागि मुख्य रुपमा जिम्मेवार भएको बताइएको छ ।
तिनको उपचार गरिरहेकी डाक्टर डेन्जि एटेन भन्छिन्, “उनको डायट दिनहुँ चिप्स मात्र थियो । यसबाहेक उनी सागसब्जी लगायत कुनैपनि कुरा खान मन पराउँदैनथे । र अझैपनि चिप्स मात्र आफूले खान सक्ने खानेकुरा भएको बताउँछन् । ” यसबीच डाक्टर एटन र उनका सहकर्मीहरुले तिनको भिटमिनको स्तर पुनः परीक्षण गर्दा उनमा बी१२ लगायत अन्य महत्वपूर्ण तत्व जस्तै, कपर, सेलेनियम, भिटमिन डी र मिनीरलको अत्याधिक कमी रहेको पत्ता लगाएका हुन् । तरपनि उनी ‘अन्डरवेट’ अर्थात कम तौलका भने छैनन् केबल कूपोषित मात्र भएको बताइएको छ । डाक्टर एटन भन्छिन्, “उनको शरीरको हड्डीले पूरै मिनीरल गुमाइसकेको छ जुन उनको उमेरका युवकका लागि अत्यन्तै आश्चर्यजनक कुरा हो । ” उनको आँखाको विषयमा चाहिँ उनलाई अहिले दृष्टिविहिनको वर्गमा रेजिस्टर गरिएको छ । एटनले थप भनिन्, “उनको दृष्टिको बीच भागमै ‘ब्लाइन्ड स्पट’ छ । जसको अर्थ उनी गाडी चलाउन सक्दैनन् र पढ्न, टीभी हेर्न वा मानिसको अनुहार पहिचान गर्नमा पनि धेरै कठिनाइ हुनेछ । तरपनि छेउछेउबाट धमिलो देख्न सक्ने हुँदा आफैँ हिँड्न चाहिँ सक्छन् ।”
विज्ञहरुका अनुसार उनमा देखिएको ‘न्युट्रिसनल अप्टिक न्युरोप्याथी’ समस्या छिटै पहिचान भएमा उपचार गर्न सकिन्छ तर लामो समयसम्म त्यतिकै छाडेमा भने ‘अप्टिक नर्भ’ का फाइबरमा अपरिवर्तनीय क्षति पुग्नेछ र स्थायी रुपमा आँखाको ज्योति गुम्न सक्छ । डाक्टर एटनका अनुसार यस प्रकारका घटना एकदम दुर्लभ मानिन्छन् तरपनि सबै बिरामी आफ्नो छानेर खाने बानीका कारण पुग्ने सम्भावित हानिबारे सचेत रहनुपर्ने उनी बताउँछिन् । त्यस्तो बानी भएकाहरुले दिनहुँ आफ्नो डायटमा नयाँ पोषक खानेकुरा थप्दै स्वस्थ खानातर्फ जोड दिन उनको सुझाव छ । बिबिसी