बाबुआमा नभएका सयौँको सामूहिक विवाह गराउने यी हिरा व्यापारी

जनपत्र
८ पुष २०७६, मंगलवार ०६:४३

भारतमा अभिभावक नभएका २७१ बेहुली सामुहिक विवाहमा सहभागी भएका छन् । यसै डिसेम्बर २१ र २२ का दिन सञ्चालन गरिएको यो सामुहिक समारोहको सम्पूर्ण खर्च हिराका ताइकुन मानिने चर्चित व्यापारी महेश सवानीले उठाएका हुन् । उनले २०१० देखि नै बिना आमाबुवा हुर्किएका छोरीहरुका लागि भनेर सामुहिक विवाहको कार्यक्रम आयोजना गर्दै आएका हुन् ।

छोरीलाई बिदा गरि पठाउनु भगवानको आशिर्वाद बराबर भएको भन्दै उनले हेरक वर्ष सबै दुलहीलाई मेकअप र लुगाको क्याटलग दिइ त्यसबाट चुन्न लगाएर सबै आर्थिक भार बेहोर्ने गरेका छन् । उनका अनुसार एउटा विवाहको ४ देखि ५ लाखसम्म लाग्ने गरेको छ र हरेक वर्ष विभिन्न धर्म, फरकफरक जात भएकाहरु भेला भइ एकैदिन विवाह गर्ने गरेका छन् ।२०१२ मा यसमा केबल २३ दुलही मात्र सहभागी थिए तर अहिले चाहिँ सयौँका सङ्ख्यामा आवेदन आउने गरेको महेशको भनाइ छ । यस्तोमा आफूहरुले अभिभावक नभएकालाई बढी प्राथमिकता दिने गरेको उनी बताउँछन् ।

भारतको पश्चिमी प्रदेश गुजरातमा आयोजना गरिएको यस कार्यक्रममा यो वर्ष पाँच बेहुली मुसल्मान थिए भने एक नेपालबाट रहेकी थिइन् । महेशले टाइम्स अफ इन्डियासँग बोल्दै भनेका छन्, “हामीले वास्तवमा मातापिता गुमाएका छोरीहरुलाई मद्दत गर्ने उद्देश्य सहित यसको थालनी गरेका हौँ । र हरेक वर्ष यसको सङ्ख्इा बढ्दै जानुले मलाई निकै खुसी बनाएको छ ।”

भारतमा विवाहलाई अत्यन्तै महङ्गो समारोह मानिन्छ जसमा परम्परागत रुपमा दुलहीको परिवारले ठूलो मात्रामा दुलाहालाई उपहार र दाइजो दिनुपर्ने हुन्छ । जसकारण पनि आमाबाबु नहुनेहरु वा अत्यन्ते गरिब वर्गमा पर्नेहरुका लागि विवाह एकदम ठूलो समस्याका रुपमा हेरिने गरिएको छ । यस्तोमा उनले यो समारोहलाई सामाजिक दायित्वका रुपमा मानेर पछिल्लो ८ वर्षदेखि यस किसिमको सेवामा आबद्ध भएको बताए ।

२००८ मा उनका एक आफन्तको मृत्युपछि उनले तिनका छोरीको विवाह गराइदिएका थिए जसबाटै प्रेरित भएर उनले त्यस्ता धेरै छोरीहरुलाई आफ्नो मद्दतको आवश्यकता रहेको महसुस गरेका हुन् । महेशले हालसम्म ३,१७२ युवतीहरुको विवाह गराइदिसकेका छन् । उनी सूरतस्थित हिराका व्यवसायी हुन् जसलाई उनका पिताले सुरु गरेका थिए । २००४ मा यसले ठूलो रुप लिँदै वार्षिक १५० करोड भारु कमाइ गर्न सफल भएको थियो । त्यसैलाई उनले पीपी सवानी ग्रुपको नाममा अघि बढाइरहेका छन् । सामूहिक विवाह गराउनुका साथै उनले अभिभावकविहीन ३ हजार बढी विद्यार्थीहरुलाई पनि पढाइरहेका छन् ।

उनले तिनीहरु सबै कम्तीमा पनि कक्षा १२ सम्म पढून् भन्ने सुनिश्चित गर्ने गर्दछन् । उनी भन्छन्, “मलाई यी कामबाट नै सबैभन्दा बढी सन्तुष्टि मिल्ने गरेको छ । र, म अत्यन्तै खुसी छु ।” एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*