वर्षा सिवाकोटी : फ्लप फिल्मकी हिट हिरोइन

जनपत्र
८ पुष २०७६, मंगलवार ०६:२६

फिल्म ‘नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षा सिवाकोटीले अहिलेसम्म दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनको फिल्मी करिअरको ग्राफ खासै सन्तोषजनक छैन । लगातार फिल्म गरिरहे पनि उनले आजसम्म हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । उनले अभिनय गरेका प्रायः सबै फिल्म बक्सअफिसमा नराम्रोसँग पछारिएका छन् ।

उनी पछिल्लो पटक फिल्म ‘वीर वीक्रम’ को सिक्वेलमा देखिएकी छन् । फिल्ममा उनी सोलो अभिनेत्रीको रुपमा थिइन् । उनको अपोजिटमा अभिनेता द्वय नाजिर हुसेन र पल शाह थिए । फिल्ममा वर्षाले एक आत्मनिर्भर युवतीको भूमिका निभाएकी थिइन् । यो फिल्मले आफ्नो करिअर उचाइमा पुर्‍याउने उनको विश्वास थियो । तर, फिल्मको नतिजा उनले सोचेभन्दा ठिक विपरित आयो ।

फिल्म ‘वीर वीक्रम २’ बक्सअफिसमा असफलता भएपछि उनी नराम्रोसँग हच्किएकी थिइन् । कतिपयले उनी अब पलायन हुने अड्कल पनि नकाटेका होइनन् । तर, अहिले वर्षाको व्यस्तता हेर्दा फिल्म फ्लप भए पनि उनको करिअरमा कुनै असर नपरेको देखिन्छ । ‘लक्का जवान’ को छायांकन सकेर फुर्सदमा रहेकी उनको हातमा अहिले दई नयाँ फिल्म छन्, ‘चालबाज’ र ‘सुदुर’ ।

‘चालबाज’ उनले भाग्यबस् पाएकी हुन् । वर्षाभन्दा अगाडि यो फिल्ममा अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी थिइन् । तर, फिल्म ‘झिँगेदाउ’ को छायांकन निर्धारित मितिमा नसकिएपछि उनले उक्त फिल्म छाड्न बाध्य भइन् । र, निर्माण टिमले अन्तिम समयमा उनको ठाउँमा वर्षालाई अनुबन्ध गरेको हो । उनी अहिले यो फिल्मको छायांकनका लागि दार्जिलिङमा छिन् ।

‘चालबाज’ पछि उनी निर्देशक रमेश बुढाथोकीको फिल्म ‘सुदुर’ मा व्यस्त हुनेछिन् । वर्षा अभिनीत फिल्म ‘लक्का जवान’ भने आउँदो चैत २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी प्रहरी अफिसरको भूमिकामा छिन् । लगातार फिल्म असफल भए पनि अहिले उनको हातमा फिल्मको कुनै कमी छैन । त्यसैले अहिले धेरैले उनलाई फ्लप फिल्मकी हिट हिरोइन भन्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*