यस्ती देखिन्थिन् ५७०० वर्ष अघिकी किशोरी लोला

दक्षिण डेनमार्कमा ५,७०० वर्षअघि लोला नाम गरेकी किशोरी बस्थिन्। उनी कालो वर्णकी थिइन्। उनको कपाल कालो र आँखा निलो थियो। उनले अन्तिमपटक खाएको खाना जंगली कटुस र जंगली प्रजातिकै हाँस थियो। उनले दूधजन्य खाना भने खाएकी थिइनन्। यति पुरानो मान्छेको वर्णन कसरी गर्न सकियो भन्ने लाग्छ नै। वैज्ञानिकहरूले ५ हजार ७ सय वर्षअघिको एउटा ुचुइगमु बाट लोलाबारे यो वर्णन गरेका हुन्।
यो चुइगम गत वर्ष नै लोल्यान्ड–फल्सटर संग्रहालयका पुरातत्वविद्हरूले ब्रिचपिच लोल्यान्डको सिल्थोम साइटमा फेला पारेका थिए। उनीहरूका अनुसार आजभन्दा करिब ७ लाख ६० हजार वर्ष अघिका मानव जातिले ब्रिचपिच नामक रूखको बोक्रा चपाउने गर्थे। ती मान्छेले यसलाई गमका रूपमा ढुंगाबाट बनेका औजारहरू मर्मत गर्न प्रयोग गर्थे। उक्त चपाइएको ब्रिचपिचको चुइगम अध्ययनपछि यो युरोपियन शिकारीहरूको समूहकी एक महिलाले चपाएको हुनसक्ने अनुमान अध्येताहरूले लगाए। अध्ययनबाट ती महिलाको डिएनए पत्ता लगाइयो। उनको जीन पत्ता लगाएपछि वैज्ञानिकहरूले ती किशोरीको कपाल, छाला र आँखाबारे हेक्का लगाएका हुन्।
उनीहरूको यो अध्ययन ुनेचर कम्युनिकेसनुमा प्रकाशित छ। ब्रिचपिचमा हुने ुएन्टिसेप्टिकु क्रिमका कारण दाँत दुखाइको समस्या पनि कम हुनसक्ने अध्ययनले देखाएको छ। अचेलका चुइगमजस्तै त्यस बेला केटाकेटीहरूले भने ब्रिचपिच रुखको बोक्रा चपाउनुलाई मनोरञ्जनका रूपमा लिने गरेको आकलन पुरातत्वविद्हरूको छ।
ब्रिचपिचमा भएको एन्टिसेप्टिककै कारण यो जुन मान्छेले चपाएको हो, उसको डिएनए लामो समयसम्म सुरक्षित पनि हुन्छ। यो अनुसन्धानलाई कोपनेहेगन विश्वविद्यालयका पुरातत्वविद् हान्से श्रोडरले नेतृत्व गरेका हुन्। श्रोडरका अनुसार अहिलेसम्म हाडहरूको मात्र अध्ययन गरेर मान्छेको इतिहास पत्ता लगाइन्थ्यो। हाडबाहेक अरू कुनै कुराले मान्छेको जिन निकाल्नसक्नु एकदमै रोमाञ्चक विषय हो। डिएनएबाट मान्छेको वर्ण, के खान्थे लगायतका कुरा पत्ता लगाउन सकिन्छ। यति मात्र होइन डिएनए पत्ता लागेसँगै उनीहरूको शरीरमा कुन प्रकारको जीवाणु हुन्थे भन्ने पनि थाहा पाउन सकिने डा। श्रोडरले बताएका छन्।
लोल्यान्डमा फेला परेकाले ती केटीको नाम लोला राखिएको हो। लोलाले चपाएको ब्रिचपिचको चुइगमले ‘टाइम क्याप्सुल’ का रूपमा काम गरेको अध्येताहरूको भनाइ छ। डिएनए अध्ययनपछि त्यस बेलाका मान्छेको जीवनचर्या पत्ता लगाउन सहज हुन्छ। उनीहरूका अनुसार लोलाको समयका मान्छे माछा मार्ने, शिकार गर्ने र जंगली कटुसमा भर पर्थे।
अध्येताहरूले लोलाको डिएनएमा एक प्रकारको भाइरस पनि भएको बताएका छन्। ुएपस्टेन–बारु नामको यो भाइरसका कारण ज्वरो आउने र निमोनियाका पनि लक्षण देखिन सक्छ। उक्त चुइगममा दाँत वा गिँजासम्बन्धी रोगका भाइरस पनि भएको अनुमान छ। लोलाले पनि यही समस्याका कारण ब्रिचपिच चपाएको हुनसक्ने अध्येताहरूले आकलन गरेका छन्।
यो अध्ययनले त्यो बेला उक्त क्षेत्रमा बस्ने मान्छेहरूको रहनसहन, खानपिन र रोगहरूबारे थप जानकारी दिएको छ। यसअघि यो क्षेत्रमा अध्ययनमा फलदायी हुनसक्ने मानव जातिका कुनै पनि अवशेष फेला परेका थिएनन्। त्यसैले खोजकर्ताहरूले आगामी दिनमा अझै नयाँ अनुसन्धान गर्ने र तथ्य उजागर हुने आशा गरेका छन्। एजेन्सीको सहयोगमा