उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।
‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनको लागि सहज हुनेगरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘मैले राजीनामा दिने ठूलो विषय हैन । योभन्दा पहिला पार्टीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’
सभामुखमा आफ्नो दाबी पेस गरिरहेकी उनी पार्टीले सभामुखका लागि नाम तय गरेपछि राजीनामा दिने मनस्थितिमा रहेको स्पष्ट हुन्छ । उनले आफूले सभामुख नपाए पनि सभामुखको उम्मेदवार छानिएपछि सहज वातावरण निर्माण गर्ने बताएकी छन् । उनले आफूले सभामुख नपाउँदा आफ्नो भूमिका के हुने भनी पार्टी नेतृत्वलाईसमेत प्रश्न गरेकी छन् । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा उपसभामुख तुम्बाहाङ्फेसँगै संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दाबी गरिरहेका छन् । दुवै तत्कालीन एमालेतर्फका नेता हुन् ।