जहाँ कुरुप भएकाप्रति उत्सव मनाइन्छ

जनपत्र
२७ मंसिर २०७६, शुक्रबार ०५:५५

इटलीको मध्य भूभागमा पर्ने घना जङ्गलले घेरिएको पिओबीको सहर बाहिरबाट अत्यन्त सुन्दर देखिन्छ तर त्यहाँका मानिसहरु भने ‘कुरुपता’ का लागि प्रख्यात मानिन्छन् । २ हजारको जनसङ्ख्या रहेको सो सहरमा सन् १८७९ देखि नै ‘क्लब डेइ ब्रुटी’ अर्थात् कुरुपहरुको क्लब नामक समूह सञ्चालन हुँदै आएको छ जसका सदस्यहरु ‘मान्छेको पहिचान अनुहारबाट होइन व्यक्तित्वबाट हुन्छ’ भन्ने विश्वास गर्दछन् ।

यसरी कैयौँ दशकदेखि चलिरहेको यो संस्कृति पछिल्लो समय विश्वव्यापी अभियानमा परिणत भएको छ । सबैभन्दा पहिले यो उटोपियन विचारधारका रुपमा सुरु भएको थियो । तर आज ‘कुरुप मान्छेहरुको विश्वव्यापी संगठन’ नाम दिइएको यो समूहमा २५ भन्दा बढी देशहरुका ३० हजार सदस्य रहेका छन् । यो क्लबलाई पहिले एक्ला महिला बस्ने सहरमा उनीहरुको जोडी मिलाउनका लागि थालिएको थियो । तर समयसँगै स्थानीयवासीहरुले यसलाई सामाजिक सन्देश दिने अवसरका रुपमा उपयोग गरेका हुन् । यसमार्फत उनीहरुले सबैलाई मान्छेको बाहिरी स्वरुप भन्दा भित्री सौन्दर्य बढी महत्त्वपूर्ण रहेको सम्झाइरहेका छन् । र यसैबीच २००७ मा पिओबिकोले सहरका कुरुप मानिसहरुलाई समर्पित एउटा मूर्ति समेत सार्वजानिक गरेको हो ।

अहिले सो क्लबमा सदस्यता प्राप्त गर्न झन सजिलो भएको छ । यसमा क्लबका वरिष्ठ सदस्यहरुले समूहमा आबद्ध हुन इच्छुक मानिसहरुको कुरुपतालाई मापन गरि अस्पष्ट वा असाधारण रुपमा कुरुप भनी निर्धारण गर्नुपर्ने हुन्छ । वास्तवमा सम्भावित सदस्यहरु कुरुप हुनैपर्छ भन्ने जरुरी मानिँदैन किनकि यो क्लब मानिसको भित्री सुन्दरता मनाउनमा केन्द्रित छ र अरुले के भन्लान् भन्नेबारे कम सोच्न यसले सुझाउँदै आएको छ ।

प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो आइतबार विश्वभरबाट मानिसहरु पिओबिकोमा कुरुपहरुको पर्व मनाउन भेला हुने गरेका छन् । सो समारोहमा सबै सदस्य मिलेर कुरुप क्लबका अध्यक्ष छनोट गर्दछन् भने नयाँलाई पनि अवसर दिन्छन् र विभिन्न परिकार सेवन गरि उत्सव मनाउने गर्दछन् । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*