सुमीलाई पहिलो गाँसमै ढुंगा

अभिनेत्री सुमी मोक्तानले लिड रोलमा ब्रेक पाएको पहिलो फिल्म हो, ‘सरौतो’ । यसअघि केही फिल्ममा सहायक भूमिकामा देखिए पनि उनलाई लिड रोलमा भने कसैले पत्याएका थिएनन् । ‘सरौतो’ मा निर्देशक हरि हुमागाईंले उनलाई एक्सन अवतारमा प्रस्तुत गरे । आफूलाई एक्सनमा ढाल्न उनले डेढ वर्ष मार्सल आर्टस्को तालिम लिइन् । भने, सात महिना सांकेतिक भाषा सिकिन् ।
दुई वर्षभन्दा बढी मेहनत गरेको फिल्म ‘सरौतो’ ले आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्नेमा सुमी आशावादी थिइन् । तर, गएको हप्ता प्रदर्शनमा आएको फिल्मले हलमा दर्शक तान्न नसक्दा उनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । यद्यपि, उनले फिल्मका लागि गरेको मेहनत भने पर्दामा देखिएको थियो । फिल्म हेर्नेले उनको एक्सनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।