सागको फाइनलमा नेपाल र भुटान : बंगलादेशका प्रशिक्षक भन्छन्, ‘फाइनल टफ हुन्छ’

१३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गत पुरुष फुटबलको फाइनलमा टफ कम्पिटिसन हुने बंगलादेशका प्रशिक्षक जेम्मी डेले बताएका छन्। नेपाल र बंगलादेशको खेलपछि पोस्टम्याच कन्फ्रेन्सुमा बोल्दै प्रशिक्षक डेले फाइनलमा पुगेका दुवै टोलीले जारी प्रतियोगितामा उत्कृष्ट खेल्दै आएकाले फाइनल प्रतिस्पर्धात्मक हुने बताए।
खेलमा विशेषगरी पछिल्लो समय तनावपूर्ण बनेको थियो। दुवै टिमका खेलाडीहरु रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिन्थे। तर, बंगलादेशका खेलाडीहरु भने अलि बढी नै आक्रामक देखिए। खेलको इन्ज्युरी समयको पनि अन्तिम मिनेटमा रेफ्रीसँग घम्साघम्सी पर्दा बंगलादेशका एक खेलाडी रेडकार्ड खाँदै बाहिरिनु समेत परेको थियो। खेलाडी अनुशासनको विषयमा प्रशिक्षक डेले केही गलत भए पनि रेफ्रीको अपरिपक्व निर्णयहरुको परिणाम भएको भन्दै पन्छिए।
यता नेपालका प्रशिक्षक बालगोपाल महर्जनले रेस्ट बिनै खेल्न परेकाले खेल खस्किएको बताए। महर्जनको स्वर पुरै सुकिसकेको थियो। लगातार खेल परेकाले उनी पनि असन्तुष्ट नै थिए। अघिल्लो पटक कुराकानी गर्दा लगातारको खेलबारे खुलेर ‘कमेन्ट’ नगरेका महर्जनले आज भने खुलेरै आलोचना गरे।