२६ वर्षपछि आइपुगेको त्यो पोष्टकार्ड

अमेरिकाको इलिनोइसमा एक महिलाले २६ वर्ष पुरानो रहस्य सुल्झाउने प्रयास गरिरहेकी छन् । सन् १९९३ मा हङकङबाट पठाइएको पोस्टकार्ड गत हप्ता उनको घर आइपुगेपछि उनी आश्चर्यमा परेकी हु्न् ।
किम डार्परले सिएनएनसँग बताए अनुसार पहिले त उनले आफ्नो घरमा सो पोस्टकार्ड डेलिभरी हुँदा गलत ठेगानामा आएको भन्ने साचेकी थिइन् । उनले भनेकी छन्, “मैले पहिलोपटक हेर्दा मलाई लाग्यो त्यो मैले नचिनेको कुनै छिमेकीको होला किनकी त्यो एकदम राम्रो अवस्थामा थियो । तर पछि मैले राम्ररी भित्र हेर्दा मात्र मलाई त्यो १९९३ मा पठाइएको थाहा भयो । म आश्चर्य चकित भएँ ।” त्यसको मिति १९९३ को रहेको र त्यसमा परम्परागत चिनियाँ जहाजहरुको तस्बिर रहेको छ । उक्त पोस्टकार्ड लिना र मुहम्मद अलि किजिलबासका नाममा लेखिएको छ र “म यो एकदमै भीडभाड ठाउँमा राम्ररी समय बिताइरहेको छु । तिमीहरुलाई छिट्टै भेट्नेछु, तिम्रो बुवा” भनि लेखिएको छ । यसका साथै पठाउने व्यक्तिले आफू बसेको स्थानलाई विस्तृतमा व्याख्या गर्दै दुवैलाई धेरै सम्झिएको भनि उल्लेख गरेका छन् ।
डार्परका अनुसार उनी आफ्नो १२ वर्षे छोरा र पतिसँग सो घरमा बसेको चार वर्ष भएको छ तर उनले पहिलोपटक यस किसिमको मेल फेला पारेकी हुन् । उनका अनुसार सो कार्ड वास्तविक ठेगानामा आइपुगेको तर दुई दशक ढिला भएको हो । यस्तोमा अहिले उनले सो पोस्टकार्डका असली हकदारको खोजी गरिरहेकी छन् र आफूले घर किनेको मान्छेसँग पनि सम्पर्क गरेकी हुन् र केही जानकारी प्राप्त नभएपछि उनले अनलाइन कर रेकर्डमा पनि खोजी गरेकी छन् भने फेसबुकमा सो नामको एकजना व्यक्ति फेला पारेकी छन् तर तिनी पोस्टकार्डमा नाम भएकी महिला हुन् होइनन् भन्ने थाहा पाउने तरिका नभएको उनले बताइन् ।
यहाँसम्मकी उनले स्थानीय पत्रिकामा अन्र्तवार्ता समेत दिइसकेकी छन् जसमार्फत यो घटनाको प्रचार हुने र पोस्टकार्डका असली मालिक फेला पर्ने उनले आशा गरेकी छन् । अहिले सामाजिक संजालमा उनका साथी लगायत फलोअरहरु यो घटना कसरी अन्त्य हुनेछ भन्नेबारे उत्साहपूर्वक पर्खिरहेको उनी बताउँछिन् । आफूले सो पोस्टकार्ड यत्तिकै फाल्न नचाहेकाले जसका लागि लेखिएको उकहाँ पुर्याउन सबै कोशिश गर्ने उनले बताएकी हुन् । एजेन्सीको