सिद्धबाबा भनिने कृष्णदास गिरीलाई दोस्रो पटक ७ दिन म्याद थप

जनपत्र
२१ मंसिर २०७६, शनिबार ०६:४७

सिद्धबाबा भनिने कृष्णदासजी महाराजविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन ‘शुक्रबार’ दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले ७ दिनको मात्र म्याद थप गरेको हो । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गर्न प्रहरीले शुक्रबार उनलाई उपचाररत विराटनगरको विराट नर्सिङ होमबाट लिएर गएको थियो । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई बिहान ११ बजे सुनसरीतर्फ लगियो । कृष्णदासजीलाई लिन डीएसपी विनोद शर्मा आफै टोली लिएर विराटनगर आएका थिए । मंसिर १६ गते सोमबार उनी विरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको थियो ।

सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि मंसिर १२ गते बिहीबारबाट कृष्णदासजी अस्पताल भर्ना भएका थिए । अदालतले कृष्णदासजी विरुद्ध चार दिनको म्याद थप गर्दै उपचारका लागि अस्पतालमै भर्ना गर्न र अनुसन्धान अधिकृत तथा सरकारी वकिललाई अस्पतालमै उनीसँग बयान लिन पनि आदेश दिएको थियो । उनी अस्पतालको आईसीयूमा भर्ना थिए । डीएसपी शर्माले बयान लिन अस्पतालको आईसीयूमै पुगे पनि बिरामी रहेको भन्दै कृष्णदासजीले बोल्न अस्वीकार गरेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*