सागको पाँचौं दिन : नेपाललाई हालसम्मकै सर्वाधिक स्वर्ण
तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) पाँचौ दिनसम्म आइपुग्दा नेपाल साग इतिहासमै सर्वाधिक स्वर्णपदक जित्न सफल भएको छ । बिहीवार ७ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या ३६ पुर्याएको छ, जो सागमा नेपालको हालसम्मकै उच्चतम प्रदर्शन हो ।
नेपालले यसअघि विसं २०५६ असोजमा काठमाडौंमै भएको आठौं सागमा ३१ स्वर्ण पदक हात पारेको थियो । सागको १३औं संस्करणमा नेपालको प्रदर्शन सुधारिनुमा तेक्वान्दो र कराते खेलमा नेपाली खेलाडीहरूको सफलता मुख्य कारण हो । यी दुई खेलबाट नेपालले २० स्वर्ण हात पार्यो । त्यस्तै, उसु र साइक्लिङमा नेपालले ४-४ स्वर्ण जितेको छ ।







