जब संसद् बैठकमै सांसदले गर्लफ्रेण्डलाई प्रपोज गरे

जनपत्र
१७ मंसिर २०७६, मंगलवार ०६:१६

जनताको प्रतिनिधि थलो मानिने संसदमा सांसदहरूले जनताकै बोली बोल्दछन् । तर आखिर सांसद् पनि त मान्छे नै हुन् । कहिलेकाहीँ सांसदहरूले संसदमा बोल्दा केवल जनताको कुरा मात्र होइन, आफ्नै घरजमका कुरा पनि गर्नुपर्दो रहेछ । हो, हालै एकजना सांसदले संसदमा बोल्दै आफ्नी गर्लफ्रेण्डलाई बिहेको प्रस्ताव गरे । सांसदले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गरेको यो घटना इटालीको हो ।

संसदमा बहस चलिरहेकै बेला आफूले बोल्ने क्रममा ती सांसदले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताव गरेका हुन् । उनकी प्रेमिका संसदको दर्शकदीर्घामा बसेकी थिइन् । यो घटना गत बिहीबारको हो । संसदमै गर्लफ्रेण्डलाई प्रपोज गर्ने ती सांसदको नाम फ्लेवियो डी मुरो हो भने उनकी प्रेमिकाको नाम एलिसा डी लिओ हो । संसदमै आफ्नो प्रेमीले बिहेको प्रस्ताव गरेपछि आश्चर्य चकित हुँदै एलिसाले उक्त प्रस्ताव स्वीकारेकी छन् । त्यसपछि अन्य सांसदहरूले फ्लेवियोलाई बधाइ दिए ।
तर संसद् चलिरहेको बेला प्रेमिकालाई प्रस्ताव गर्ने सांसदको यस्तो कार्य संसदको मर्यादाविपरित थियो । सभामुख रोबर्टो फिकोले सांसद् फ्लेवियोले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गर्ने कार्य अनुचित तथा नियमविपरीत रहेको बताए ।

रोचक त के भने संसदमा भूकम्पपछिको पुनर्निर्माणको विषयमा बहस चलिरहेको बेला ती सांसदले प्रेमिकालाई प्रस्ताव राखेका थिए । गम्भीर विषयमा बहस चलिरहेको बेला आफ्नो व्यक्तिगत तथा संसद् भवनभित्रको मर्यादाविपरीतको कार्य गरेकोमा सभामुखले ती सांसदको ध्यानाकर्षण पनि गराए । समाचार अनुसार, सांसद् फ्लेवियो र एलिसा पछिल्लो ६ वर्षदेखि लिभिङ टुगेदरमा छन् । लिग पार्टीको तर्फबाट गएको मार्चमा चुनाव जित्दै ३३ वर्षका फ्लेवियो इटालीको तल्लो सदनको सांसद बनेका हुन् ।

–एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*