काठमाडौँ-पोखरा र काठमाडौँ-लुम्बिनी रेलमार्ग : रेलको स्टेसनहरु राख्ने सम्भावित ठाउँहरुको स्थलगत अध्ययन

जनपत्र
१४ मंसिर २०७६, शनिबार ०६:५५

उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ । मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्साङ्कन ‘एलाइनमेन्ट’ तथा स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको हो । चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मङ्सिर ९ गते काठमाडौँ आएको थियो । चिनियाँ टोली शुक्रबार स्वदेश फर्किसकेको छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिए । उनले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि चितवन कुरिनटारसम्म एउटै ‘एलाइनमेन्ट’ हुने अध्ययनले प्रस्ताव गरेको जानकारी दिए । स्थलगत अध्ययन टोलीमा चिनियाँसहित नेपालको रेल विभागबाट इन्जिनियर चित्रकार र अर्का इन्जिनियर नवराज भट्टको सहभागिता रहेको थियो । गोरखापत्र दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*