‘प्रेमगीत ३’ मा शिव श्रेष्ठको यस्तो अवतार

जनपत्र
१४ मंसिर २०७६, शनिबार ०६:१७

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा प्रमुख भूमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । जसमा उनलाई निकै भिन्न अवतारमा देख्न सकिन्छ । लामो कपाल र जुँगामा देखिएका उनलाई झट्ट चिन्न गाह्रो पार्छ । सिंहासनमा बसेका उनी राजाको भेषमा क्रोद्धित मुद्रामा देखिएका छन् ।

अभिनेता शिव श्रेष्ठको यो लुक्सले दर्शकमा फिल्मप्रति झनै कौतुहलता बढाएको छ । यसमा उनी डेढ सय वर्ष अगाडिको राजाको भूमिकामा छन् । यस पिरियड ड्रामा फिल्ममा उनले अभिनेता प्रदीप खड्का र नव(अभिनेता मनिष राउतको पिताको भूमिका निभाएका छन् । उनको लुक्स सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको काठमाडौं छायांकन सकिएको जानकारी गराएको छ ।

फिल्मका निर्माता सन्तोष सेनले अब फिल्मको आउटडोर छायांकनका लागि मनाङ प्रस्थान गरेको बताए । महिनौं लगाएर निर्माण टिमले फिल्मको इनडोर छायांकनका लागि कीर्तिपूरमा भव्य सेट निर्माण गरेको थियो । जहाँ फिल्मको आधाभन्दा बढी छायांकन गरिएको छ । मनाङमा फिल्मको महत्त्वपूर्ण सिन खिचिने निर्माता सेनले बताए । जसका लागि मुस्ताङबाट घोडा मगाइएको छ ।

यस फिल्ममा प्रदीपको अपोजिटमा नव(अभिनेत्री क्रिस्टिना गुरुङ छिन् । फिल्ममा प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । फिल्ममा हिमाल केसीको एक्सन छ । यो फिल्म चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*